नागरिकता बनाएबापत ५० हजारदेखि दुई लाख रुपैयाँसम्मको चलखेलको आरोप, रंगेली–५ घटनामा निष्पक्ष छानबिनको माग

मिति: २०२६-०६-२० , समय : २२:२४:५५ , Our Pradesh

Our Pradesh

रंगेली, मोरङ

रंगेली नगरपालिका वडा नं. ५ मा एक युवाको नागरिकता सम्बन्धी विषयलाई लिएर विवाद चुलिएको छ। राम महतो नुनिया (नाम परिवर्तन) नाम गरेका करिब २४ वर्षीय युवाले सानीआमालाई आमा उल्लेख गरी नागरिकता लिएको आरोप सार्वजनिक भएको छ। साथै, नागरिकता बनाइदिने क्रममा करिब दुई लाख रुपैयाँसम्म माग गरिएको तथा आर्थिक लेनदेन भएको आरोपसमेत स्थानीयस्तरमा चर्चाको विषय बनेको छ।

 

स्थानीय स्रोतका अनुसार नागरिकता बनाइदिने आश्वासन दिँदै एक व्यक्तिले करिब दुई महिनासम्म सम्बन्धित युवालाई लिएर रंगेली र विराटनगरका विभिन्न कार्यालयमा आउजाउ गरेका थिए। सो क्रममा यातायातदेखि लिएर खानपिनसम्मको खर्चसमेत सम्बन्धित व्यक्तिबाट उठाइएको तथा नागरिकता बनाइदिएबापत ५० हजार रुपैयाँ लिने प्रस्तावसमेत गरिएको दाबी गरिएको छ।

 

स्थानीयले दाबी गरेअनुसार नागरिकता बनेपछि माग गरिएको रकम नदिएपछि सम्बन्धित व्यक्तिले नै उक्त नागरिकता शंकास्पद रहेको भन्दै विषय बाहिर ल्याएको चर्चा अहिले स्थानीयस्तरमा भइरहेको छ। यद्यपि, यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेका छन्।

 

घटनाबारे वडा अध्यक्ष महानन्द मण्डलले आफूलाई झुक्याएर नागरिकता बनाउन लगाइएको दाबी गरेका छन्। उनका अनुसार पछि वास्तविकता थाहा पाएपछि उनले स्वयं उक्त नागरिकता लिएर जिल्ला प्रशासन कार्यालयमा पुगेर घटनाबारे जानकारी गराएका तथा नागरिकता खारेजी र आवश्यक छानबिनका लागि अनुरोध गरेका छन्।

 

वडा अध्यक्ष मण्डलका अनुसार राम महतो नुनियाका (नाम परिवर्तन) बाबुआमा सानै उमेरमै निधन भएको र उनले जन्मदर्ताको आधारमा नागरिकता बनाएका थिए। जन्मदर्तामै करिब २० वर्षअघि सानीआमाको नाम आमाको रूपमा उल्लेख भएकाले सोही आधारमा प्रक्रिया अगाडि बढेको उनको भनाइ छ।

 

यसैबीच, स्थानीय तहमा गरिएको खोजबिनका क्रममा नागरिकता बनाइदिने भन्दै रकम माग्ने व्यक्ति नै घटनामा मुख्य भूमिकामा रहेको हुन सक्ने आशंका व्यक्त गरिएको छ। तथापि, यस विषयमा सम्बन्धित निकायबाट आधिकारिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छैन र कसैको संलग्नता औपचारिक रूपमा पुष्टि भएको छैन।

 

स्थानीयवासीहरूले नागरिकता जस्तो संवेदनशील विषयमा कुनै अनियमितता भएको भए दोषीमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्ने माग गरेका छन्। आर्थिक चलखेल, झुटो विवरण र प्रभावको दुरुपयोग भएको आरोपको निष्पक्ष तथा पारदर्शी छानबिन गरी यथार्थ सार्वजनिक गर्न उनीहरूले सम्बन्धित निकायसँग माग गरेका छन्।

सनाखतमा समेत स्थानीय व्यक्तिहरू जो बसेका थिए तिनीहरूले पैसा माग गरेको समेत खुलासा भएका छन्।

समाजमा यस्ता घटनाले समग्र समुदायको प्रतिष्ठामाथि नै प्रश्न उठ्ने भएकाले सत्यतथ्य बाहिर ल्याई दोषी देखिने जो–कोहीलाई कानुनी कठघरामा ल्याउनुपर्ने स्थानीयहरूको जोड रहेको छ। हाल घटनाले व्यापक चर्चा पाएको छ भने यथार्थ सत्यता बाहिर ल्याउन सम्बन्धित निकायबाट शीघ्र, निष्पक्ष र गहिरो छानबिन आवश्यक देखिएको छ।

प्रकाशित मिति: २०२६-०६-२० , समय : २२:२४:५५ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित