समुदायप्रति दायित्व निर्वाह गर्दै मुक्तिनाथ विकास बैंकले गर्यो व्हीलचेयर सहयोग
मिति: २०२६-०७-११ , समय : १८:१६:२८ , Our Pradesh
मिति: २०२६-०७-११ , समय : १८:१६:२८ , Our Pradesh
Our Pradesh
समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्दै सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको मुक्तिनाथ विकास बैंक लिमिटेडले पुनः एक उदाहरणीय कार्य गरेको छ। बैंकको रङ्गेली शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत रङ्गेली अस्पताललाई बिरामीको सेवासुविधाका लागि १० थान व्हीलचेयर हस्तान्तरण गरेको हो।



आयोजित कार्यक्रममा बैंकका शाखा प्रमुख फेकन कुमार कामतले अस्पताल व्यवस्थापनलाई व्हीलचेयर हस्तान्तरण गर्दै बैंकले वित्तीय सेवा मात्र नभई समाजको आवश्यकता र मानवीय सेवाप्रति पनि उत्तिकै प्रतिबद्ध रहेको बताए। अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिक, अशक्त तथा हिँडडुल गर्न कठिनाइ भएका बिरामीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ।



कार्यक्रममा रङ्गेली नगरपालिकाकी कार्यवाहक नगरप्रमुख भूमा पराजुली, वडा नं. ७ का अध्यक्ष रामचन्द्र मण्डल, स्थानीय समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, अस्पतालका कर्मचारी, बैंकका कर्मचारी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अस्पताल व्यवस्थापनले बैंकबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै उक्त व्हीलचेयरले बिरामीलाई सेवा प्रवाह थप सहज, छिटो र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक कल्याणका क्षेत्रमा यस्ता जनहितमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैंकको यो सहयोगले वित्तीय संस्थाहरू नाफामुखी कारोबारमा मात्र सीमित नभई समाजप्रति उत्तरदायी र मानवीय सेवामा समेत अग्रसर हुनुपर्छ भन्ने सकारात्मक सन्देश दिएको छ।
प्रकाशित मिति: २०२६-०७-११ , समय : १८:१६:२८ , २ महिना अगाडि