एक जनाको मनपरीले सिंगो राष्ट्रिय स्वतन्त्र पार्टी नै बदनाम! वडा नं. ३ का सभापतिमाथि गरिब, सुकुम्बासी र भूमिहीनबाट PAN का नाममा मनोमानी असुली गरेको आरोप, प्रशासन अझै मौन
मिति: २०२६-०७-२४ , समय : २०:००:४५ , Our Pradesh
मिति: २०२६-०७-२४ , समय : २०:००:४५ , Our Pradesh
Our Pradesh
सिडिओको आदेशलाई चुनौती? रतुवामाईमा PAN बनाइदिने नाममा खुलेआम चर्को असुली, प्रशासन मौन, राजनीतिक पहुँचको आडमा सर्वसाधारण ठगिएको गुनासो



मोरङ, रतुवामाई। मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले व्यक्तिगत PAN बनाइदिने सेवामा मनपरी शुल्क असुल्न नपाइने स्पष्ट निर्देशन दिएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार PAN बनाइदिने नाममा रु. ५०० जस्तो चर्को शुल्क लिन मिल्दैन र यसरी सेवाग्राहीबाट अत्यधिक रकम असुल्नु कानुनी रूपमा स्वीकार्य हुँदैन। तर उक्त निर्देशनविपरीत रतुवामाई नगरपालिका–६, आमबाडीचोकमा PAN बनाइदिने नाममा रु. ५०० देखि ८०० सम्म असुली भइरहेको गुनासो आएको छ।



स्थानीयका अनुसार पाथिभरा अनलाइन तथा फोटोकपी सेन्टरका सञ्चालक डम्बर ताजपुरिया ले सेवाग्राहीबाट व्यक्तिगत PAN बनाइदिने भन्दै रु. ५०० देखि ८०० सम्म असुलिरहेका छन्। यस विषयमा यसअघि समाचार सार्वजनिक भइसके पनि आजसमेत सोही दरमा रकम उठाइरहेको स्थानीयको दाबी छ।
स्थानीयको भनाइअनुसार, PAN दर्ताका लागि आवश्यक सामान्य कम्प्युटर टाइपिङ, प्रिन्ट तथा फोटोकपी सेवाको नाममा सामान्यतया रु. १००–२०० जति शुल्क लिने चलन रहेकामा रु. ५०० वा सोभन्दा बढी रकम उठाउनु चर्को असुली भएको उनीहरूको भनाइ छ। उनीहरूका अनुसार यसरी अतिरिक्त रकम लिनु सर्वसाधारणलाई आर्थिक रूपमा मर्का पार्ने र ठगीसरहको व्यवहार हो।
गुनासोबारे सोध्दा सम्बन्धित सञ्चालकले “हामीले कर्मचारी खटाएका छौं, त्यसैले रु. ४००–५०० लिएका हौं” भन्ने जवाफ दिएको स्थानीयको दाबी छ।
जिल्ला प्रशासन कार्यालयले यसअघि नै तोकिएकोभन्दा चर्को शुल्क उठाउन नपाइने र प्रमाणसहित गुनासो आए आवश्यक कानुनी कारबाही गरिने जनाएको थियो। तर पटक–पटक गुनासो आउँदा पनि प्रभावकारी अनुगमन तथा कारबाही नदेखिएको भन्दै स्थानीयले प्रशासनको भूमिकामाथि प्रश्न उठाएका छन्।
स्थानीयका अनुसार डम्बर ताजपुरिया रतुवामाई नगरपालिका–३ का राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति हुन्। यही कारण राजनीतिक पहुँचको आडमा सर्वसाधारणबाट मनपरी शुल्क उठाइरहेको आरोप केही स्थानीयले लगाएका छन्। विशेष गरी दलित, सुकुम्बासी तथा भूमिहीन नागरिक यसबाट बढी प्रभावित भएको उनीहरूको भनाइ छ।
स्थानीयको भनाइ छ, यदि यी आरोपहरू सत्य सावित भए भने एक व्यक्तिको कार्यले सिंगो पार्टीको छविमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना हुन सक्छ। उनीहरूले सम्बन्धित निकायसँग तत्काल निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिए कानुनी कारबाही गर्न माग गरेका छन्।
प्रकाशित मिति: २०२६-०७-२४ , समय : २०:००:४५ , २ महिना अगाडि