सीमा रक्षा गर्न खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण, गोरु नियन्त्रणको प्रयास बिथोलियो
मिति: २०२६-०८-०३ , समय : १३:१७:१२ , Our Pradesh
मिति: २०२६-०८-०३ , समय : १३:१७:१२ , Our Pradesh
Our Pradesh
मोरङ, साउन १८ — मोरङको रतुवामाई नगरपालिका–३ स्थित छलगाछी प्याक्टोला (पुरानो टेढागाछ) भारत–नेपाल सीमा क्षेत्रमा आज बिहान करिब ८ बजे सशस्त्र प्रहरी बल नेपाल, बीओपी बालुवारीबाट ड्युटीमा खटिएको चार सदस्यीय टोलीमाथि हातपात तथा कुटपिट भएको घटना सार्वजनिक भएको छ।




प्रारम्भिक जानकारीअनुसार नेपालबाट भारततर्फ चार वटा गोरु लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ती गोरु नियन्त्रणमा लिन खोज्दा केही व्यक्तिहरूको समूहले प्रहरीमाथि आक्रमण गरेको बताइएको छ। त्यसपछि उक्त समूहले नियन्त्रणमा लिन खोजिएका गोरुहरू समेत लिएर घटनास्थलबाट फरार भएको जनाइएको छ।


स्थानीय स्रोतका अनुसार घटनाका क्रममा नेपाल र भारत दुवैतर्फका केही व्यक्तिहरू घटनास्थलमा भेला भएका थिए। स्रोतका अनुसार हातपातमा केही स्थानीय व्यक्तिहरू समेत संलग्न रहेको आशंका गरिएको छ। यद्यपि, घटनामा को–को संलग्न थिए भन्ने विषयमा सम्बन्धित सुरक्षा निकायबाट आधिकारिक पुष्टि हुन बाँकी छ।

स्थानीयका अनुसार विगत करिब एक महिनादेखि सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा गाई–गोरुको अवैध ओसारपसार नियन्त्रण गर्न विशेष कडाइ गर्दै आएको छ। रातभर नियमित गस्ती परिचालन गरी सीमामा निगरानी बढाइएपछि तस्करी नियन्त्रणमा प्रयास भइरहेको स्थानीयको भनाइ छ।
यद्यपि, स्थानीय स्रोतले रङ्गेली, रतुवामाई, दोहमना, बेलबारी र दमक क्षेत्रबाट विभिन्न मार्ग जस्तै बक्रा खोला नदीबाट, भद्रचोक, कस्तु चोक, छलगाची नाका प्रयोग गरी गाई–गोरु भारततर्फ लैजाने प्रयास अझै जारी रहेको दाबी गरेका छन्। स्थानीयको दाबीअनुसार हरेक दिन करिब ५० लाख रुपैयाँ बराबरका गाई–गोरु सीमापार हुने गरेका छन्।

नेपाली व्यापारीहरूले कति गुरु रु ३०० देखि लिएर ५०० सम्म सीमासम्म सुरक्षित रूपले नेपाल सीमा पार गरेर भारतसम्म लग्दिने भन्दै पैसा लिने गरेको छ ।
व्यापारीहरू केही रङ्गेली तथा रतुवामाई नगरपालिकाका स्थानीयहरू रहेका छन्। केही व्यापारीहरू राजनीतिक संरक्षणमा बसेर सो कारोबार गर्दै आएको खुलासा भएको छ।
स्थानीयवासीले सीमावर्ती क्षेत्रमा गाई–गोरु ओसारपसारको विषयमा विगतदेखि नै पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको बताएका छन्। उनीहरूका अनुसार सीमा क्षेत्रमा निगरानी बढाइए पनि अवैध गतिविधिमा संलग्न समूह सक्रिय रहेको र नियन्त्रणका क्रममा सुरक्षाकर्मीमाथि नै आक्रमण हुने घटना चिन्ताजनक बनेको छ।

स्थानीयहरूले सीमा रक्षा गर्न खटिएका सशस्त्र प्रहरीमाथि नै आक्रमण हुन थालेपछि सुरक्षाकर्मीको मनोबलमा असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। उनीहरूको भनाइमा यदि यस्ता घटना दोहोरिँदै गए सीमावर्ती क्षेत्रमा अवैध गतिविधिमा संलग्न समूह थप निर्भीक हुन सक्ने अवस्था सिर्जना हुनेछ।
घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने माग स्थानीयले उठाएका छन्। साथै सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित निकायले संयुक्त रूपमा निगरानी, खोजतलास र नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउनुपर्ने आवाज पनि उठेको छ।

यस घटनाका सम्बन्धमा सशस्त्र प्रहरी बल वा नेपाल प्रहरीबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। घटनाको वास्तविक विवरण, संलग्न व्यक्तिहरूको पहिचान तथा स्थानीयले उठाएका अन्य दाबीबारे सम्बन्धित सुरक्षा निकायले अनुसन्धान गरी आधिकारिक जानकारी सार्वजनिक गर्नुपर्ने स्थानीयको माग रहेको छ।
प्रकाशित मिति: २०२६-०८-०३ , समय : १३:१७:१२ , २ महिना अगाडि