एसपी कबित कटवालको नेतृत्वमा मोरङ प्रहरीको लागू औषधविरुद्ध ‘मेगा क्यान’ अभियान, जनचेतनामार्फत दुर्व्यसन नियन्त्रणमा जोड
मिति: २०२६-०८-०५ , समय : २०:३७:३७ , Our Pradesh
मिति: २०२६-०८-०५ , समय : २०:३७:३७ , Our Pradesh
Our Pradesh
एसपी कबित कटवालको नेतृत्वमा मोरङ प्रहरीको लागू औषधविरुद्ध ‘मेगा क्यान’ अभियान, जनचेतनामार्फत दुर्व्यसन नियन्त्रणमा जोड
विराटनगर, श्रावण २० । लागू औषध दुर्व्यसन नियन्त्रण तथा युवापुस्तामा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मोरङ प्रहरीले सञ्चालन गरिरहेको “लागू औषध विरुद्धको महाअभियान (Mega Campaign Against Narcotic – Mega CAN)” अन्तर्गत बुधबार ग्रामथान गाउँपालिकामा बृहत् जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।



जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त आयोजनामा ग्रामथान गाउँपालिका–२ स्थित गोपीकृष्ण मणिकर्णिका सामुदायिक सेवा केन्द्रमा आयोजित कार्यक्रममा ग्रामथान गाउँपालिकाका अध्यक्ष नमो नारायण माझी प्रमुख अतिथि, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल विशिष्ट अतिथि तथा मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कबित कटवाल विशेष अतिथिका रूपमा सहभागी भएका थिए।



कार्यक्रममा बोल्दै एसपी कबित कटवालले लागू औषध दुर्व्यसन समाज, परिवार र विशेषगरी युवापुस्ताका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि प्रहरी मात्र होइन, अभिभावक, शिक्षक, स्थानीय सरकार, नागरिक समाज र सम्पूर्ण समुदायको सक्रिय सहकार्य आवश्यक रहेको बताए। उनले जनचेतनामूलक अभियानलाई गाउँ–गाउँसम्म विस्तार गर्दै लागू औषधमुक्त समाज निर्माणका लागि मोरङ प्रहरीले निरन्तर अभियान सञ्चालन गरिरहेको जानकारी दिए।
कार्यक्रममा ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणावती देवी थारू, प्रशासन प्रमुख मुरारी प्रसाद निरौला, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मोरङका सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक राजन शर्मा सापकोटा, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरी, सातवटै वडाका वडाध्यक्ष, विभिन्न सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी, युवा क्लबका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा स्थानीय भद्रभलाद्मी गरी १९२ जनाको सहभागिता रहेको थियो।

दिउँसो २:१० बजे सुरु भएको कार्यक्रम ३:२५ बजे सम्पन्न भएको थियो। कार्यक्रममा लागू औषधको दुष्प्रभाव, कानुनी व्यवस्था, रोकथामका उपाय तथा समुदायको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
मोरङ प्रहरीले पछिल्लो समय लागू औषध नियन्त्रणसँगै जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिँदै समुदायसँगको सहकार्यलाई सुदृढ बनाउने अभियानलाई निरन्तरता दिएको जनाएको छ।
प्रकाशित मिति: २०२६-०८-०५ , समय : २०:३७:३७ , २ महिना अगाडि