विराटनगरका सात आँखा अस्पतालमा जिल्ला प्रशासनको सिलबन्दी
मिति: २०२६-०८-१३ , समय : १६:१५:२१ , Our Pradesh
मिति: २०२६-०८-१३ , समय : १६:१५:२१ , Our Pradesh
Our Pradesh
विराटनगर । विराटनगरमा सञ्चालनमा रहेका सातवटा आँखा उपचारसम्बन्धी स्वास्थ्य संस्थामा जिल्ला प्रशासन कार्यालय मोरङले सिलबन्दी गरेको छ।



जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाको संयोजकत्वमा गठित अनुगमन तथा छानबिन समितिले गरेको अनुगमनका क्रममा प्रचलित कानुन तथा मापदण्डअनुसार सञ्चालन नभएको पाइएपछि ती स्वास्थ्य संस्थामा सिलबन्दी गरिएको हो।


अनुगमन समितिमा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. रामहरि रेमी तथा जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत कोविद ढकाल सदस्य रहेका थिए।

समितिले आँखाको उपचारसम्बन्धी सेवा सञ्चालनका लागि आवश्यक कानुनी मापदण्ड, अस्पतालको क्षमता, सेवा सञ्चालनको इजाजत तथा प्रदेश सरकारबाट आँखा उपचार केन्द्र सञ्चालनका लागि दिइएको अनुमति लगायतका विषयमा अनुगमन गरेको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार अनुगमनका क्रममा जनस्वास्थ्य सेवा नियमावली, २०७७ तथा स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० बमोजिम सञ्चालन नभएको पाइएका स्वास्थ्य संस्थालाई सिलबन्दी गरिएको हो।

सिलबन्दी गरिएका स्वास्थ्य संस्थामा विराट आँखा अस्पताल प्रा.लि. (विराटनगर–१४), संजीवनी आई केयर प्रा.लि. (विराटनगर–१०), हिमाल आँखा अस्पताल प्रा.लि. (विराटनगर–१३), विराट रानी आँखा अस्पताल प्रा.लि. (विराटनगर–९), अरुण ज्योति आँखा अस्पताल प्रा.लि. (विराटनगर–१५), नेपाल आँखा अस्पताल प्रा.लि. (विराटनगर–१३) र इकराह आँखा अस्पताल प्रा.लि. (विराटनगर–१५) रहेका छन्।

जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरिएका स्वास्थ्य संस्थालाई प्रचलित कानुनबमोजिमको प्रक्रिया अघि बढाउन प्रदेश स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णयसमेत गरेको जनाएको छ।
यस कारबाहीपछि विराटनगरमा सञ्चालन भइरहेका निजी आँखा अस्पताल तथा आँखा उपचार केन्द्रहरूको सेवा सञ्चालन, अनुमति र कानुनी मापदण्ड पालना सम्बन्धमा थप प्रश्न उठेको छ।
प्रकाशित मिति: २०२६-०८-१३ , समय : १६:१५:२१ , ३ महिना अगाडि