आज नागपञ्चमी, घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजाअर्चना गरिँदै

मिति: २०२६-०८-१७ , समय : ०८:२५:२० , Our Pradesh

Our Pradesh

आज नागपञ्चमी, घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजाअर्चना गरिँद

रङ्गेली । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजाअर्चना गरी मनाइँदैछ।

 

धार्मिक मान्यताअनुसार घरको मूलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर नाग, सर्प तथा बिच्छीलगायतका जीवबाट दुःख नहुने र अग्नि, मेघ तथा चट्याङको भयबाट समेत सुरक्षा हुने विश्वास छ।

 

वैदिक कालदेखि नै नागपूजाको परम्परा रहँदै आएको मानिन्छ। नागलाई सर्पको राजा तथा जलका प्रतीकका रूपमा समेत पूजा गर्ने परम्परा छ। वराहपुराणमा यसै तिथिमा नागराज र ब्रह्माबीच संवाद भएको उल्लेख रहेकाले नागपञ्चमीलाई नागपूजाका लागि विशेष दिन मानिन्छ।

 

नागपञ्चमीका अवसरमा नागस्थान तथा कुण्डमा विशेष पूजाआजा गरी गाईको दूध, अक्षता, दूबो, खीर, रोटी लगायतका प्रसाद चढाउने गरिन्छ। वैदिक सनातन परम्परामा नागलाई भगवान् विष्णु र शिवसँग समेत जोडेर हेर्ने गरिन्छ।

 

यस दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोटक र शङ्ख गरी अष्टनागको पूजा गर्ने परम्परा छ। पूजापछि नागको तस्वीर घरको मूलढोकामाथि टाँस्ने चलन रहेको छ।

 

नागपञ्चमीका दिन खेतबारीमा खनजोत नगर्ने तथा नाग, सर्पलगायत घिस्रने जीवजन्तुलाई मार्न नहुने धार्मिक मान्यता पनि रहेको छ। नागको पूजा गरे घरमा सुख, शान्ति तथा समृद्धि कायम हुने र लक्ष्मीको वास हुने जनविश्वास रहँदै आएको छ।

 

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्गलगायत विभिन्न धार्मिक ग्रन्थमा नागसँग सम्बन्धित कथा तथा प्रसङ्गहरू उल्लेख गरिएको पाइन्छ। यही धार्मिक तथा सांस्कृतिक मान्यताका आधारमा नेपालमा नागपञ्चमी विशेष श्रद्धा र आस्थाका साथ मनाउने गरिन्छ।

प्रकाशित मिति: २०२६-०८-१७ , समय : ०८:२५:२० , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित