भोटेकोशी बाढी : मृतक प्रहरीका परिवारलाई १० लाख, ४० करोड राहत कोषमा दिने निर्णय

मिति: २०२६-०९-०२ , समय : २३:०४:५३ , Our Pradesh

Our Pradesh

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ।

 

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले बाढी प्रभावित प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवारका लागि विशेष राहत प्याकेज घोषणा गरेको हो।

 

बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल प्रहरीको तर्फबाट ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णयसमेत गरेको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिएका छन्।

 

बाढीमा परी दिवङ्गत भएका प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋणसमेत पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरिएको छ। साथै, मृतक प्रहरीका सन्ततिलाई पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म तथा काभ्रेको साँगास्थित नेपाल प्रहरी आवासीय विद्यालयमा उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाइने भएको छ।

 

पीडित परिवारलाई आत्मनिर्भर बनाउन इच्छुक एक जना सदस्यलाई सीपमूलक तालिम प्रदान गरी रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय पनि भएको छ।

 

यसैबीच, भोटेकोशी बाढीमा परी हालसम्म सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीको खोजी कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित परिवारसँग समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गरिने भएको छ।

 

बाढी प्रभावित क्षेत्रमा खटिएका तथा व्यक्तिगत सामग्री गुमाएका प्रहरी कर्मचारीलाई पनि राहत उपलब्ध गराइने भएको छ। इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी पोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, स्याफ्रुवेशी र बेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीलाई व्यक्तिगत क्षतिको राहतस्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ।

 

त्यस्तै, दिवङ्गत, सम्पर्कविहीन तथा घाइते प्रहरी कर्मचारी र उनीहरूका परिवारलाई खोजतलास, उपचार तथा आवश्यक सेवा–सुविधाका लागि सहजीकरण गर्न प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोक्ने निर्णयसमेत गरेको छ।

 

नेपाल प्रहरीले विपद्को समयमा कर्तव्य निर्वाह गर्दै ज्यान गुमाएका तथा प्रभावित आफ्ना कर्मचारी र परिवारप्रति संस्थागत अभिभावकत्व ग्रहण गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गर्ने जनाएको छ।

प्रकाशित मिति: २०२६-०९-०२ , समय : २३:०४:५३ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित