संसारी मन्दिरको जग्गा घट्दा छोकोको निज जग्गा बढेको देखिएपछि प्रश्न
मिति: २०२६-०९-०५ , समय : ०८:३६:०८ , Our Pradesh
मिति: २०२६-०९-०५ , समय : ०८:३६:०८ , Our Pradesh
Our Pradesh
संसारी मन्दिरको जग्गा करिब ९ कठ्ठा हाराहारी घटेको दाबी, छेउको निजी जग्गा १ कठ्ठा ९ धुर बढेको देखिएपछि प्रश्न



पुरानो र नयाँ नापीबीच देखिएको फरकले बढायो चासो, मन्दिरको सम्पूर्ण जग्गा पुनःनापी गर्न स्थानीयको माग


रङ्गेली । रङ्गेलीस्थित ऐतिहासिक संसारी मन्दिरको जग्गाको क्षेत्रफल पुरानो विवरणको तुलनामा उल्लेख्य रूपमा घटेको देखिएपछि मन्दिरको सार्वजनिक सम्पत्ति संरक्षणको विषय गम्भीर बनेको छ।

मन्दिरको कुल जग्गा ३ बिघा १७ कठ्ठा हुनुपर्नेमा हालको नापी विवरणमा ३ बिघा ९ कठ्ठा १६ धुर मात्र देखिएको बताइएको छ। यसले मन्दिरको जग्गामा करिब ९ कठ्ठा हाराहारी कमी देखिएको भन्दै मन्दिर समिति तथा स्थानीयले यसको वास्तविकता तत्काल यकिन गर्नुपर्ने माग गरेका छन्।
मन्दिर जाने मुख्य बाटोतर्फको अगाडिको जग्गाको मुखसमेत पुरानो नापीको तुलनामा करिब १० मिटर घटेको देखिएको बताइएको छ। तर, त्यही मन्दिरको अगाडिको भागबाट पूर्वतर्फ रहेको निजी जग्गाको मुख भने हालको नापीमा करिब १४ मिटर बढेको देखिएपछि विषय थप चासोको बनेको हो।
उक्त जग्गा उमेश शाहको नाममा रहेको बताइएको छ। पुरानो विवरणअनुसार करिब ७ कठ्ठा ६ धुर रहेको उक्त जग्गा हाल ८ कठ्ठा १५ धुर देखिएको बताइएको छ। अर्थात् नापी विवरणअनुसार उक्त जग्गा १ कठ्ठा ९ धुर बढी देखिएको छ।

यसअघि उक्त क्षेत्रमा पैनी रहेको दाबीसमेत गरिएको भए पनि हालको नापीका क्रममा उक्त जग्गाबाट पैनी नरहेको देखिएको बताइएको छ। मन्दिरको जग्गा घटेको देखिनु, त्यसैको छेउमा रहेको निजी जग्गाको क्षेत्रफल तथा मुख्य सडकतर्फको मुख बढेको देखिनु र पुरानो–नयाँ नापीबीच फरक देखिनुले जग्गाको वास्तविक सिमाना र क्षेत्रफल कसरी परिवर्तन भयो? भन्ने प्रश्न उठेको हो।

यद्यपि, यी तथ्यहरूले मात्र कसैले मन्दिरको जग्गा अतिक्रमण गरेको प्रमाणित गर्दैन। यसको वास्तविकता पत्ता लगाउन पुरानो नक्सा, हालको नक्सा, फिल्डबुक, लालपुर्जा तथा स्थलगत नापजाँच एकसाथ अध्ययन गर्नुपर्ने देखिन्छ।
यता, जग्गाधनी उमेश शाहले भने आफ्नो जग्गा नापीमा बढेको देखिए पनि त्यसमा आफूहरूको कुनै दोष नरहेको बताएका छन्। नापीमा क्षेत्रफल बढी देखिएको भए त्यो प्राविधिक त्रुटि हुनसक्ने भन्दै शाहले आफूहरूले संसारी मन्दिरको कुनै पनि जग्गा अतिक्रमण नगरेको स्पष्ट पारेका छन्।

त्यसैले अहिलेको मुख्य प्रश्न कसैलाई दोषी करार गर्नु नभई मन्दिरको जग्गा कहाँ र कसरी घट्यो तथा छेउको निजी जग्गा कुन आधारमा बढ्यो भन्ने तथ्य सार्वजनिक गर्नु रहेको स्थानीयको भनाइ छ।
स्थानीय तथा मन्दिर समितिले सार्वजनिक धार्मिक सम्पत्तिको विषय भएकाले रङ्गेली नगरपालिकाले यसलाई सामान्य जग्गा विवादका रूपमा नलिई सम्पूर्ण संसारी मन्दिरको जग्गा पुनःनापी गरी चारकिल्ला यकिन गर्नुपर्ने माग गरेका छन्।
विशेषगरी पुरानो नापीमा रहेको ३ बिघा १७ कठ्ठा जग्गा र हाल देखिएको क्षेत्रफलबीचको फरक, साथै छेउको निजी जग्गा ७ कठ्ठा ६ धुरबाट ८ कठ्ठा १५ धुर कसरी पुग्यो भन्ने विषयको प्राविधिक परीक्षण आवश्यक देखिएको छ।
सार्वजनिक मन्दिरको जग्गा भएकाले एक धुर पनि फरक परेको भए त्यसको कारण खोजिनुपर्छ। नापीको गल्ती हो भने सच्याइनुपर्छ, सिमाना हेरफेर भएको हो भने तथ्य बाहिर ल्याइनुपर्छ र अतिक्रमण भएको पुष्टि भए कानुनी प्रक्रिया अघि बढाइनुपर्ने स्थानीयको माग छ।

यता, रङ्गेली नगरपालिकाले भने हालसम्म यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। अब नगरपालिकाले मन्दिरको सार्वजनिक सम्पत्तिलाई प्राथमिकतामा राखेर निष्पक्ष पुनःनापी गराउँछ कि नक्सा र कागजबीचको यो फरक यत्तिकै थन्किन्छ, त्यसतर्फ स्थानीयको ध्यान केन्द्रित भएको छ।।
प्रकाशित मिति: २०२६-०९-०५ , समय : ०८:३६:०८ , २ महिना अगाडि