गगन थापाको नेतृत्वमा खुले पराजुली, मोरङमा देउवा समूह कमजोर बन्दै

मिति: २०२६-०९-१५ , समय : १९:२४:३९ , Our Pradesh

Our Pradesh

गगन थापाको नेतृत्वमा खुले पराजुली, मोरङमा देउवा समूह कमजोर बन्दै

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज ३ गतेदेखि हुने कार्यतालिका सार्वजनिक भएसँगै मोरङ कांग्रेसको आन्तरिक राजनीतिक समीकरणमा फेरबदल देखिन थालेको छ।

यसअघि सभापति शेरबहादुर देउवा पक्षमा रहेका केही नेताहरू पछिल्लो समय महामन्त्री गगन थापाको नेतृत्वतर्फ खुलेर समर्थन जनाउन थालेका छन्। कोशी प्रदेश सांसद तथा नेपाली कांग्रेसका नेता पराजुलीले सामाजिक सञ्जालमार्फत गगन थापाको नेतृत्वमा कांग्रेसलाई अघि बढाउनुपर्ने स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

पराजुलीले ‘चारतारे झण्डा र रुख जहाँ हुन्छ, त्यहीँ मेरो र हाम्रो स्वाभिमान जोडिएको छ’ भन्दै लोकतन्त्र र प्रजातन्त्रको जग बलियो बनाउन सबै एकजुट हुनुपर्ने बताएका छन्। उनले कांग्रेसलाई अगाडि बढाउन गगन थापाको नेतृत्वमा समर्पित भएर अघि बढ्नुको विकल्प नरहेको समेत उल्लेख गरेका छन्।

महाधिवेशनको मिति नजिकिँदै गर्दा देउवा पक्षमा रहेका नेताहरू क्रमशः गगन थापातर्फ खुल्न थालेपछि मोरङमा देउवा समूहको पकड कमजोर हुँदै गएको संकेत देखिएको कांग्रेस वृत्तमा चर्चा हुन थालेको छ।

आगामी महाधिवेशनले मोरङ कांग्रेसभित्रको शक्ति सन्तुलन र नेतृत्वको समीकरणमा समेत महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।

प्रकाशित मिति: २०२६-०९-१५ , समय : १९:२४:३९ , १० घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित