रङ्गेली कांग्रेसको नयाँ नेतृत्वका लागि ६ जनाको नाम चर्चामा
मिति: २०२६-०९-२१ , समय : १७:२७:१० , Our Pradesh
मिति: २०२६-०९-२१ , समय : १७:२७:१० , Our Pradesh
Our Pradesh
रङ्गेली कांग्रेसको नयाँ नेतृत्वका लागि ६ जनाको नाम चर्चामा
रङ्गेली । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन तथा क्षेत्रीय प्रतिनिधि चयन प्रक्रिया सम्पन्न भएसँगै रङ्गेली नगरपालिकामा नयाँ नगर नेतृत्वका लागि राजनीतिक गतिविधि तीव्र बनेको छ। महाधिवेशनको कार्यतालिकाअनुसार आगामी असोज ७ गते रङ्गेली नगरपालिकाको नयाँ कार्यसमिति चयन हुँदैछ।


नगर सभापतिको नेतृत्वका लागि हालसम्म करिब ६ जनाको नाम चर्चामा आएको छ। तीमध्ये रङ्गेली नगरपालिका–५ का अनुभवी नेता रामनारायण मण्डलको नाम प्रमुख रूपमा चर्चामा छ। उनी पटक–पटक महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यको भूमिकामा रहिसकेका छन्।



सोही वडाका असेश्वर मण्डल पनि नगर सभापतिको दाबेदारका रूपमा चर्चामा छन्। गाउँस्तरको प्रशासनिक तथा सांगठनिक क्षेत्रमा लामो अनुभव बोकेका उनले २० वर्षभन्दा बढी समय सचिवको जिम्मेवारी सम्हालेको अनुभव रहेको बताइएको छ।

त्यस्तै, रङ्गेली–७ का प्रमोद चक्रवर्तीको नाम पनि नगर नेतृत्वका लागि चर्चामा छ। बंगाली समाजको केन्द्रस्तरीय गतिविधिमा समेत सक्रिय रहँदै सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका चक्रवर्तीलाई स्वच्छ छविका नेताका रूपमा हेरिँदै आएको छ।

युवामाझ राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय सञ्जीव श्रेष्ठको नाम पनि नगर सभापतिको सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ। विभिन्न संघसंस्था सञ्चालनको अनुभवसँगै राजनीतिमा सक्रिय रहेका श्रेष्ठले पनि नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ।

त्यसैगरी, रङ्गेली–२ का पूर्व वडा अध्यक्ष जितनारायण खवासको नाम पनि चर्चामा छ। प्लान नेपाललगायत विभिन्न अर्धसरकारी संस्थामा काम गरेको अनुभव रहेका खवासले स्थानीय राजनीति र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

रङ्गेली–३ का विकास शिवाकोटी पनि नगर सभापतिको सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्। लामो विद्यार्थी राजनीति पृष्ठभूमि, युवामाझको सक्रियता तथा स्पष्ट राजनीतिक धारणा राख्ने नेताका रूपमा शिवाकोटीको नाम अगाडि आएको हो।

हालसम्म चर्चामा आएका यी नाममध्ये आगामी दिनमा कसले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्छन् भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन। उम्मेदवारी दर्ताको समय नजिकिँदै जाँदा कांग्रेसभित्रको आन्तरिक छलफल र समीकरणले थप गति लिने देखिएको छ।
रङ्गेलीमा लामो समयदेखि नेपाली कांग्रेसको सांगठनिक नेतृत्व र प्रभावलाई लिएर विभिन्न बहस हुँदै आएको छ। स्थानीय तहमा पार्टीको कमजोर उपस्थिति तथा पछिल्ला निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेको अवस्थाबीच यसपटकको महाधिवेशनबाट सक्षम र संगठनलाई पुनः सक्रिय बनाउन सक्ने नेतृत्व चयन गर्नुपर्ने आवाज कांग्रेसभित्र उठ्दै आएको छ।
गुट–उपगुटभन्दा माथि उठेर पार्टी संगठनलाई बलियो बनाउने, कार्यकर्तालाई एकताबद्ध गर्ने र आगामी निर्वाचनलाई केन्द्रमा राखेर संगठन विस्तार गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन्।
यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट रङ्गेली नगर सभापतिको जिम्मेवारी जगन्नाथ मण्डलले सम्हालेका थिए। मण्डलले यसपटक नगर सभापतिमा पुनः उम्मेदवारी नदिने स्पष्ट पार्दै प्रदेश क्षेत्रतर्फ आफ्नो राजनीतिक जिम्मेवारी केन्द्रित गर्ने धारणा व्यक्त गरेका छन्।
अब असोज ७ गते हुने नगर अधिवेशनले रङ्गेली कांग्रेसको आगामी नेतृत्व कसको हातमा सुम्पिन्छ भन्ने विषयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
प्रकाशित मिति: २०२६-०९-२१ , समय : १७:२७:१० , ५१ मिनेटutes अगाडि