जहदामा तीनवटा नयाँ पुलको उद्घाटन, सीमावर्ती जनजीवनमा आशा र सहजता थपियो

मिति: २०२५-०४-१७ , समय : १०:३१:४० , Our Pradesh

Our Pradesh

मोरङ, जहदा –

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मोरङ जिल्लाको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकामा निर्माण सम्पन्न तीनवटा पुलको बुधबार उद्घाटन गरेका छन्। सहरी विकास मन्त्रालयको लगानीमा बनेका यी पुलहरू जहदा गाउँपालिकाको विभिन्न वडाहरू र छिमेकी भारतीय सीमालाई आपसमा जोड्ने उद्देश्यले निर्माण गरिएको हो।

 

तीनवटै पुलहरूमध्ये एक कटहरी गाउँपालिका–२ र जहदा–४ जोड्ने लोहन्द्रा खोलाको कृपालघाटमा, अर्को जहदा–७ स्थित भारतीय सीमा जोड्ने लोहन्द्रा खोलामा तथा तेस्रो जहदा–२ को जुडी खोलामा निर्माण गरिएको छ।

उद्घाटन समारोहमा जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र साहले पूर्वाधार अभावका कारण स्थानीयवासीले विगतमा भोगेका कठिनाइ उल्लेख गर्दै, पुल निर्माणपछि आवतजावत सहज भएको बताए। उनले भने, “बिरामीलाई अस्पताल लैजान गाह्रो हुन्थ्यो, दमकलसमेत समयमा पुग्न सक्दैनथ्यो, अब त सबैले राहतको सास फेरेका छन्।”

 

कार्यक्रममा बोल्दै प्रदेश सांसद अमृत अर्यालले सीमावर्ती क्षेत्रको समग्र विकासका लागि सडक तथा पुलजस्ता पूर्वाधार निर्माण अत्यावश्यक भएको बताए। उनले कटहरीदेखि भारतीय सीमासम्मको सडक निर्माण गरी त्यसको नाम ‘गणेशमान सिंह सडक’ राख्ने प्रस्ताव गरेका छन्। साथै, उक्त योजनालाई चालु आर्थिक वर्षमै बजेटमा समेट्न उनले उपप्रधानमन्त्री समक्ष आग्रह पनि गरे।

 

उक्त प्रस्तावलाई स्थानीय बासिन्दाहरूले समेत पूर्ण समर्थन जनाउँदै छिटोभन्दा छिटो निर्माण कार्य सुरु गर्न माग गरेका छन्।

उपप्रधानमन्त्री सिंहले उद्घाटन समारोहमा सम्बोधन गर्दै ग्रामीण क्षेत्रका सडक र पुलहरूले केवल यातायात मात्र होइन, समग्र आर्थिक गतिशीलता र जनजीवनमा सुधार ल्याउने विश्वास व्यक्त गरे। “किसानले उत्पादन गरेको तरकारी र अन्न सजिलै बजारमा पुर्‍याउन सक्ने भएपछि आम्दानी पनि बढ्नेछ,” उनले स्पष्ट पारे।

प्रदेश सांसद अमृत अर्यालको जनप्रतिनिधिको रूपमा सक्रियता र विकासप्रति प्रतिबद्धताले स्थानीयमा सकारात्मक प्रभाव परेको जनाइएको छ।

 

तीन पुलको उद्घाटनसँगै जहदा गाउँपालिकाको जनजीवनमा नयाँ आशा र सम्भावनाको ढोका खुलेको स्थानीयहरू बताउँछन्।

प्रकाशित मिति: २०२५-०४-१७ , समय : १०:३१:४० , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित