धनपालथानमा जन्मदर्ता नभएका बालबालिकालाई विद्यालय भर्ना गराउने निर्णय
मिति: २०२५-०४-२८ , समय : १५:४८:२० , Our Pradesh
मिति: २०२५-०४-२८ , समय : १५:४८:२० , Our Pradesh
Our Pradesh
धनपालथानमा जन्मदर्ता नभएका बालबालिकालाई विद्यालय भर्ना गराउने निर्णय
मोरङ, धनपालथान —
विगत लामो समयदेखि विभिन्न कारणले जन्मदर्ता नगरिएका बालबालिकाको शैक्षिक भविष्यमा अवरोध हुँदै आएको समस्या समाधान गर्न धनपालथान गाउँपालिकाले ठोस कदम चालेको छ।
गाउँपालिकाले “पढाइबाट कोही पनि वञ्चित नहोस्” भन्ने नीतिसहित पालिकाभित्रका सबै विद्यालयहरूलाई परिपत्र जारी गरेको हो। अब जन्मदर्ता नभएका बालबालिकालाई वडा अध्यक्षको प्रमाणित सिफारिसका आधारमा विद्यालयमा भर्ना गराइनेछ।
गाउँपालिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदारले भने, “अहिलेको समयमा पनि विद्यार्थीहरू शिक्षाबाट वञ्चित हुनु दुःखद विषय हो। धनपालथानमा जन्मदर्ता नभएको भन्दै कुनै पनि बालबालिका पढाइबाट टाढा रहनु पर्नेछैन।” उनले थप स्पष्ट पारे, “स्थानीय सरकारको यो निर्णय सबै विद्यालयले पालना गर्नु अनिवार्य छ।”
उपप्रमुख नसीमा बानोले पनि बालबालिकाको शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताइन्। उनले भनिन्, “धनपालथानमा कुनै पनि बच्चा जन्मदर्ताको कारणले पढ्न नपाउने अवस्था आउन दिने छैनौं। सबै अभिभावकलाई सहज पहुँच दिनुपर्ने हाम्रो प्राथमिकता हो।”
यस निर्णयले जन्मदर्ता अभावका कारण विद्यालय प्रवेशबाट वञ्चित हुँदै आएका बालबालिकालाई पठनपाठनको अवसर सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रीता खतिवडाले बताइन्, “विभिन्न कानुनी जटिलताका कारण जन्मदर्ता नहुँदा बालबालिका पढाइबाट वञ्चित हुँदै आएको गुनासोपछि कार्यपालिकामा प्रस्ताव पेश गरिएको थियो।”
उनका अनुसार प्रस्ताव कार्यपालिका सदस्यहरूको बहुमतले पारित गरिएको हो। खतिवडाले थपिन्, “विद्यालयहरूले शैक्षिक सञ्चालनमा एकरुपता कायम गर्दै स्वच्छ वातावरण निर्माण गर्नुपर्नेछ। अनुमति प्राप्त कक्षाहरूमा मात्र पढाइ सञ्चालन गर्न र विद्यार्थी भर्ना गर्दा समेत सोही मापदण्ड पालन गर्न निर्देशन दिइएको छ।”
गाउँपालिकाले शिक्षा क्षेत्रलाई थप व्यवस्थित र समावेशी बनाउन थप नीति तथा कार्यक्रम ल्याउने तयारी
गरेको जनाएको छ।
प्रकाशित मिति: २०२५-०४-२८ , समय : १५:४८:२० , ४ हप्ता अगाडि