गभर्नर नियुक्तिमा काँग्रेसको दबाब, सत्ता परिवर्तनको तयारीमा देउवा

मिति: २०२५-०४-२८ , समय : २२:२७:४३ , Our Pradesh

Our Pradesh

गभर्नर नियुक्तिमा काँग्रेसको दबाब, सत्ता परिवर्तनको तयारीमा देउवा

१५ वैशाख २०८२, सोमबार

आवर प्रदेश

 

काठमाडौं — नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्ति आफ्नै पक्षमा पार्न सत्ता परिवर्तनको रणनीति अघि सारेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै देउवाले गभर्नर नियुक्ति प्रक्रिया तत्काल टुंग्याउन दबाब दिएको स्रोतको दाबी छ।

थाइल्याण्ड भ्रमणबाट फर्किएलगत्तै देउवा शनिबार राति बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए। भेटमा गभर्नर नियुक्ति किन ढिलो भएको भन्दै देउवाले असन्तुष्टि जनाएका थिए। प्रधानमन्त्री ओलीले केही दिनभित्रै टुंगो लाग्ने आश्वासन दिएको बताइएको छ। काँग्रेसको तर्फबाट राष्ट्र बैंक निर्देशक डा. गुणाकर भट्टको नाम सिफारिस भइसकेको छ भने उनले राजीनामा पनि दिइसकेका छन्। तर राजीनामा स्वीकृत गर्ने प्रकृयामा अन्यौलता कायमै छ।

 

यसबीच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समेत कामु गभर्नर निलम ढुङ्गानालाई राजीनामा स्वीकृत गर्न दबाब दिएको समाचार सार्वजनिक भएको छ। राष्ट्र बैंक ऐनअनुसार गभर्नरको कार्यकाल सकिनु एक महिना अगावै नयाँ नियुक्ति गरिसक्नुपर्ने व्यवस्था भएपनि देउवा र ओलीबीचको असहमतिले प्रक्रिया लम्बिएको हो।

 

सत्ता सहकार्यमा अविश्वास बढ्दै

 

त्ता सहकार्यको विषयमा प्रधानमन्त्री ओली र देउवाबीच अविश्वास चुलिएको एमाले नेताहरू बताउँछन्। देउवाले गभर्नर नियुक्तिमा काँग्रेसको माग नमानिए सरकार ढाल्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री बन्ने सुनौलो अवसर देखिरहेका देउवाले ६० भन्दा बढी सांसदको समर्थन जुटाइसकेका छन्। काँग्रेस नेताहरू देउवामाथि प्रधानमन्त्री पदका लागि ढिला नगर्न दबाब दिइरहेका छन्।

 

अर्थ मन्त्रालय अन्तर्गत धितोपत्र बोर्ड, बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज जस्ता निकायमा पहिले नै काँग्रेस निकट व्यक्तिहरू नियुक्त भइसकेका छन्। अब निर्वाचन आयोगमा समेत काँग्रेसले आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेको छ। काँग्रेसभित्र सबै तह र संगठनहरूले सबै नियुक्तिमा अडान लिन सभापति देउवामाथि दबाब दिइरहेका छन्।

 

प्रधानमन्त्री ओली भने निर्वाचन आयोग र राष्ट्र बैंक दुवैमा एकैपटक नियुक्ति टुंग्याउने रणनीति बनाइरहेका छन्। ओलीले सत्ता टिकाउने कि छोड्ने भन्ने निर्णय संसदको गणपूरक संख्याको आधारमा गर्ने बताएका छन्। उता नेकपा माओवादी केन्द्र भने देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने तयारीमा रहेको खुलेको छ।

प्रकाशित मिति: २०२५-०४-२८ , समय : २२:२७:४३ , ४ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित