सूचनाको हकमा सक्रिय पत्रकार बुढाथोकीलाई ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ — भण्डारीलाई प्रोत्साहन पुरस्कार, यज्ञ शर्मालाई अग्रज पत्रकार सम्मान

मिति: २०२५-०५-०३ , समय : २१:४४:०४ , पारस मण्डल

पारस मण्डल

भण्डारीलाई प्रोत्साहन पुरस्कार, यज्ञ शर्मालाई अग्रज पत्रकार सम्मान

विराटनगर, मोरङ—

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विराटनगरमा आयोजित एक विशेष समारोहमा सूचनाको हकका क्षेत्रमा सक्रिय पत्रकार किशोर बुढाथोकीलाई ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०८१’ प्रदान गरिएको छ।

 

पुरस्कारको राशि एक लाख एक सय रुपैयाँ रहेको छ। बुढाथोकी विगत १३ वर्षदेखि सूचनाको अधिकार, पारदर्शिता, र सुशासनको प्रवर्द्धनमा क्रियाशील रहँदै आएका छन्।

सोही अवसरमा ‘सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ झापाका पत्रकार एवं अभियन्ता सुरेन्द्र भण्डारीलाई प्रदान गरिएको छ। प्रोत्साहन पुरस्कारको राशि २५ हजार २५ रुपैयाँ रहेको छ।

 

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुरस्कारहरू हस्तान्तरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सूचनाको हक जनताको मौलिक अधिकार भएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको बताए। मेयर कोइरालाले पारदर्शी प्रशासन र जिम्मेवार पत्रकारिताको महत्वमा जोड दिए।

समारोहमा अग्रज पत्रकार यज्ञ शर्मालाई सम्मानित गरिएको थियो। शर्माले कार्यक्रममा बोल्दै पुरस्कृत हुनेहरूको योगदानबारे जानकारी गराएका थिए।

 

समारोह नेपाल पत्रकार महासंघ मोरङ शाखाको आयोजनामा अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा पत्रकार महासंघका विभिन्न तहका पदाधिकारीहरू, प्रदेश तथा केन्द्रीय नेताहरू, अग्रज पत्रकारहरू, र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सिफारिस समितिको संयोजक महासंघ मोरङ अध्यक्ष सुशीला पाठक थिइन् भने सदस्यमा अग्रज पत्रकार यज्ञ शर्मा र दातृ परिवारबाट केदारबहादुर बस्नेत सहभागी थिए।

 

उक्त पुरस्कार हरेक वर्ष सूचना, पारदर्शिता र नागरिक अधिकारका क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिहरूलाई प्रदान गरिँदै आएको छ।

यसअघि सूचनाको हकका क्षेत्रमा योगदान दिने विभिन्न पत्रकार तथा अभियन्ताहरूले यो पुरस्कार प्राप्त गरिसकेका छन्।

प्रकाशित मिति: २०२५-०५-०३ , समय : २१:४४:०४ , ३ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित