“तस्करी गराउने जनप्रतिनिधि! रङ्गेलीमा खुलेआम लाइन मिलाउने आरोप”
मिति: २०२५-०५-०७ , समय : २१:३७:२० , Our Pradesh
मिति: २०२५-०५-०७ , समय : २१:३७:२० , Our Pradesh
Our Pradesh
सीमावर्ती क्षेत्रमा तस्करीको ‘लाइन’ मिलाउने सुनियोजित खेल? रङ्गेलीका केही जनप्रतिनिधि, प्रहरी र शिक्षकमाथि गम्भीर आरोप!
रङ्गेली
नगरपालिका पुनः विवादको भुमरीमा परेको छ। भारतसँग जोडिएको रङ्गेली नगरपालिका अन्तर्गतको सीमावर्ती वार्ड नं. ४, ५ र ६ मा तस्करीको नयाँ जालो खुल्दै गएको छ। स्थानीय जनस्तरमा चुलिंदै गएको आक्रोशसँगै एउटा गोप्य तर विश्वसनीय सूचनाले स्थानीय स्तरमै अवैध कारोवारलाई संरक्षण र सहजीकरण गरिँदै आएको गम्भीर खुलासा गरेको छ।
सूचनाका अनुसार, केही निर्वाचित जनप्रतिनिधिहरू तस्करहरूसँगको साँठगाँठमा सक्रिय छन्। भारत–नेपाल सीमाबाट अवैध रुपमा सामान भित्र्याउने व्यापारीहरू यिनै जनप्रतिनिधिहरूकै सम्पर्कमा रही, “लाइन खुलाइदिन” सिधै उनीहरूको घरमा पुग्ने र त्यसपछि प्रहरी तथा सशस्त्र निकायसँग संवाद गराइ तस्करी सहज बनाइने गरिएको छ। अझ चौंकाउने त के छ भने बुझाइएको रकम उनीहरुकै आफन्तको माध्यमबाट लिइने र त्यस रकमको बाँडफाँड जनप्रतिनिधि, प्रहरी र सुरक्षाकर्मीबीच हुने गरेको आरोप समेत सार्वजनिक भएको छ।
अझै गम्भीर कुरा त यो छ कि यस सम्पूर्ण प्रक्रियामा पेशाले शिक्षक रहेका एक व्यक्ति समेत सक्रिय रुपमा संलग्न छन्, जो रकम संकलन र तस्करीका गतिविधिहरूलाई सञ्चालन गर्न भूमिका खेलिरहेको स्रोतको दाबी छ।
रङ्गेली नगरपालिका–५, ६ र ४ मा तस्करी खुलेआम चलेकै कारण यहाँको सीमा क्षेत्र “लाइन केन्द्र” को रूपमा बदनाम हुँदै गएको छ। यसले गर्दा स्थानीय बासिन्दाहरू त्रासमा छन्। “जब निर्वाचित जनप्रतिनिधि नै तस्करका संरक्षक बन्छन्, तब जनता सुरक्षित कसरी हुने?” भन्ने गम्भीर प्रश्न उठ्न थालेको छ।
स्थानीय तहमा कानुनको पालना गराउने जिम्मेवार पात्रहरू नै यदि कानुन मिच्नेलाई संरक्षण दिने भूमिकामा उत्रिन्छन् भने, त्यो राज्य व्यवस्थाको गम्भीर विफलता हो। अहिले नै यथोचित अनुसन्धान नगरेमा, यो समूहीक भ्रष्ट गठबन्धनले सीमावर्ती क्षेत्रलाई मात्र हैन, समग्र शासन प्रणालीलाई घात पुर्याउने निश्चित देखिन्छ।
यस विषयमा सम्बन्धित निकायको औपचारिक प्रतिक्रिया आउन बाँकी छ।
प्रकाशित मिति: २०२५-०५-०७ , समय : २१:३७:२० , ३ हप्ता अगाडि