कुकुर बचाउने प्रयासमा मोटरसाइकल दुर्घटना : रतुवामाईमा आमाको ज्यान गयो, छोरा सकुशल
मिति: २०२५-०५-१८ , समय : २१:४५:४७ , Our Pradesh
मिति: २०२५-०५-१८ , समय : २१:४५:४७ , Our Pradesh
Our Pradesh
रतुवामाई त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना : आमाको मृत्यु, छोरा सकुशल
मोरङ, सुनबर्सी – मोरङको रतुवामाई नगरपालिका–६ स्थित त्रिवेणी चोकमा आइतबार साँझ भएको एक दर्दनाक सडक दुर्घटनामा आमा–छोरा सवार मोटरसाइकल दुर्घटनामा परी आमाको ज्यान गएको छ।
दुर्घटनामा रतुवामाई–५ निवासी ४४ वर्षीया भवानी मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनी आफ्ना अन्दाजी २४ वर्षीय छोरा रमेश मेहतासँग मोटरसाइकल (प्रदेश १–०२–०४५ प ९०६० नम्बर) मा आमबारीबाट उर्लाबारीतर्फ जाँदै थिईन्।
प्रहरीका अनुसार साँझ करिब ६:३५ बजे त्रिवेणी चोकमा अचानक बाटोमा कुकुर देखिएपछि चालक रमेशले जोगाउने प्रयास गर्दा मोटरसाइकलको सन्तुलन गुमी चिप्लिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी भवानी मेहतालाई तत्काल रंगेली अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा करिब साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
छोरा रमेश मेहता भने सकुशल रहेका छन् र हाल अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी निरीक्षक होमप्रसाद अधिकारीको टोलीले गरिरहेको छ।
प्रकाशित मिति: २०२५-०५-१८ , समय : २१:४५:४७ , २ महिना अगाडि