अमेरिकामा गोली प्रहारबाट दुई बालबालिकासहित चार नेपालीको मृत्यु
मिति: २०२५-०६-०७ , समय : ०८:१७:४४ , Our Pradesh
मिति: २०२५-०६-०७ , समय : ०८:१७:४४ , Our Pradesh
Our Pradesh
अमेरिकाको भर्जिनिया राज्यस्थित म्यानासस पार्क क्षेत्रमा भएको एक दर्दनाक घटनामा दुई बालबालिकासहित चार नेपाली मूलका नागरिकहरू मृत भेटिएका छन्।
प्राप्त विवरण अनुसार बिहीबार राति करिब १०:४० बजे म्यानासस पार्कको लाने लेनमा रहेको एक घरभित्र २ वर्षीय बालक, ८ वर्षीया बालिका, ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ मृत अवस्थामा भेटिएका हुन्।
स्थानीय प्रहरीले घटनास्थलमा बन्दुक पनि बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा यो हत्या–आत्महत्या (murder-suicide) को घटना हुनसक्ने आशंका गरिएको छ। यद्यपि, कसले गोली प्रहार गर्यो भन्ने विषयमा पुष्टि भइसकेको छैन।
मृतकहरू बसोबास गर्दै आएको घरका धनीले केही दिनदेखि सम्पर्क हुन नसकेपछि प्रहरीलाई वेलफेयर चेक (कल्याण जाँच) का लागि जानकारी गराएका थिए। प्रहरी टोली घटनास्थलमा पुग्दा चारै जनालाई गोली लागेको अवस्थामा मृत फेला पारेको हो।
छिमेकीहरूका अनुसार उक्त परिवार करिब ६ महिनाअघि मात्र सो क्षेत्रमा बसाइँ सरेको थियो। स्थानीय एक महिला छिमेकीले बताइन्, “मेरा ८ वर्षीया छोरी मृत बालिकासँग हरेक दिन खेल्थिन्, यो खबर अत्यन्तै पीडादायी छ।”
चारै जनाको शव परीक्षणका लागि म्यानाससको मेडिकल एक्जामिनर कार्यालय पठाइएको छ भने घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
गत वर्ष पनि यही क्षेत्रमै नेपाली मूलकी ममता भट्टको हत्या भएको थियो। त्यस घटनाको निष्कर्ष आउन नपाउँदै फेरि यति गम्भीर घटना घट्नुले स्थानीय नेपाली समुदायमा ठूलो त्रास र दुःख थपिएको छ।
प्रकाशित मिति: २०२५-०६-०७ , समय : ०८:१७:४४ , १७ घन्टा अगाडि