बकर ईद विशेष: इस्माईलको बलिदान सम्झना गर्दै मुस्लिम समुदायले आज मनाउँदै छन् पवित्र पर्व

मिति: २०२५-०६-०७ , समय : ०९:५८:०६ , Our Pradesh

Our Pradesh

बकर ईद विशेष: इस्माईलको बलिदान सम्झना गर्दै मुस्लिम समुदायले आज मनाउँदै छन् पवित्र

 

काठमाडौं — मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो धार्मिक पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिद र इदगाहहरूमा नमाज, कुर्बानी (बलि) र शुभकामना आदान–प्रदान गर्दै श्रद्धा र भक्तिभावपूर्वक मनाइँदै छ।

 

रमजान पर्वको ७० औं दिनमा मनाइने यो पर्वको ऐतिहासिक पृष्ठभूमि इस्लाम धर्मका पैगम्बर इब्राहिम र उनका छोरा इस्माईलसँग जोडिएको छ। धार्मिक मान्यताअनुसार, इब्राहिमले अल्लाहको आदेशअनुसार आफ्ना प्रिय छोरा इस्माईललाई बलिदान गर्न तयार भएका थिए। इब्राहिमको पूर्ण समर्पण देखेर अल्लाह प्रशन्न भई इस्माईलको सट्टा जन्नतबाट दुम्बा पठाएको विश्वास गरिन्छ। त्यसैको सम्झनामा आजको दिन मुस्लिम धर्मावलम्बीहरूले कुर्बानी दिने परम्परा कायम राख्दै आएका छन्।

 

आज बिहानैदेखि दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिदहरूमा मुस्लिम समुदायको भीड लागेको छ। मुस्लिम धर्मावलम्बीहरूले स्नान गरेर मस्जिदमा गई सामूहिक नमाज अदा गरेपछि एकअर्कालाई बकर ईदको शुभकामना आदान–प्रदान गरिरहेका छन्।

 

मुस्लिम धर्मगुरु मौलाना रहमत अलीका अनुसार सन् ५७१ मा मक्कामा जन्मिएका हजरत मोहम्मद (स.अ.व.) ले इब्राहिमको यो परम्परालाई धार्मिक विधिको रूपमा स्थापन गरी पुस्तान्तर गरे। त्यसकै आधारमा आज बकर ईदलाई महत्वपूर्ण पर्वका रूपमा मनाउने चलन चलेको हो।

 

यस पर्वको अवसरमा मक्का–मदिना तीर्थयात्रालाई विशेष महत्व दिइन्छ। नेपाल सरकारले हज यात्राका लागि गृह मन्त्रालयअन्तर्गत हज समिति गठन गरी व्यवस्थापन गर्दै आएको छ। मक्का जान नसक्नेहरूले घरमै कुर्बानी दिई पर्व मनाउने गर्दछन्।

 

कुर्बानी गरिएका जनावरको मासु तीन भागमा बाँडिन्छ — एक भाग गरिबलाई, अर्को आफन्तजनलाई र तेस्रो भाग आफ्नै परिवारका लागि राखिन्छ। नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनका अनुसार, बकर ईद तीन दिनसम्म मनाइने धार्मिक विधि रहेको छ।

 

आजको दिन अल्लाहप्रति समर्पण, बलिदान र मानवता–सेवाको भावनासँग गाँसिएको यो पर्वले मुस्लिम समुदायमा आपसी मेलमिलाप र धार्मिक आस्था थप सुदृढ बनाउने विश्वास गरिएको छ।

 

सरकारले आजको दिन सार्वजनि

क बिदा दिएको छ।

प्रकाशित मिति: २०२५-०६-०७ , समय : ०९:५८:०६ , १६ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित