बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु, तीनको उपचार जारी
मिति: २०२५-०६-१५ , समय : ०९:२२:१६ , Our Pradesh
मिति: २०२५-०६-१५ , समय : ०९:२२:१६ , Our Pradesh
Our Pradesh
बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु, तीनको उपचार जारी
विराटनगर, असार १ गते ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका तीन जना मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटना लगत्तै गम्भीर घाइते भएका उनीहरूलाई पाँचथर अस्पताल हुँदै विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए ।
पाँचथर अस्पतालका अनुसार प्रारम्भिक अवस्थामा बाहिरी चोट नदेखिए पनि उनीहरू बोल्न नसक्ने अवस्थामा थिए । हालसम्म बाँकी तीन जना घाइतेको उपचार भइरहेको छ ।
हेवा खोलामा निर्माणाधीन बेलिब्रिज २०८१ असोज १२ गतेको बाढीले पुरानो बेलिब्रिज बगाएपछि पुनः जडान गर्ने क्रममा खसेको हो । जडानको काम नसकिँदै पुल खस्दा काममा खटिएका ६ जना मजदुर घाइते भएका थिए ।
हेवा खोला फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमाना क्षेत्रमा पर्दछ ।
प्रकाशित मिति: २०२५-०६-१५ , समय : ०९:२२:१६ , १९ घन्टा अगाडि