उखुबारीमा भेटियो ८०२ किलो गाँजा, तस्करको खोजी तीव्र
मिति: २०२५-०७-१० , समय : १५:२५:५७ , Our Pradesh
मिति: २०२५-०७-१० , समय : १५:२५:५७ , Our Pradesh
Our Pradesh
उखुबारीमा भेटियो ८०२ किलो गाँजा, तस्करको खोजी तीव्
रङ्गेली: मोरङको धनपालथान गाउँपालिका–१, गदिया खोलानजिकै रहेको उखुबारीबाट बुधबार साँझ ठूलो परिमाणमा ८०२ किलो गाँजा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया, प्रहरी चौकी अमाहिवरियाती र सशस्त्र प्रहरी बलको बीओपी नोचाबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा यो गाँजा बरामद गरेको हो।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, साँझ ६:३५ बजेतिर उखुबारीभित्र २६ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा फेला परेको थियो।
बरामद गरिएको गाँजालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। प्रहरीले गाँजा कसले लुकाएको हो भन्नेबारे अनुसन्धान गरिरहेको छ, तर हालसम्म यसमा संलग्न कोही पनि पक्राउ परेका छैनन्।
डीएसपी चुँडालले अन्य स्थानमा पनि गाँजा लुकाइएको हुन सक्ने आशंकामा खोजी कार्य तीव्र पारिएको जानकारी दिइन्। प्रहरीको प्रारम्भिक अनुमानअनुसार, पूर्वी पहाडी जिल्लाहरूमा उत्पादन हुने गाँजालाई भारततर्फ तस्करी गर्नका लागि उखुबारीमा भण्डारण गरेर राखिएको हुन सक्छ। प्रहरीले यस घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी राखेको छ।
प्रकाशित मिति: २०२५-०७-१० , समय : १५:२५:५७ , २ दिन अगाडि