मोरङको कटहरीमा बन्दागोभी बोकेको ट्रकबाट ३,१५० किलो गाँजा बरामद

मिति: २०२५-०७-१३ , समय : १३:०१:०२ , Our Pradesh

Our Pradesh

मोरङको कटहरीमा शनिबार मध्यराति बन्दागोभी लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ। कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकबाट प्रहरीले ३ हजार १ सय ५० किलोग्राम (३१.५ क्विन्टल) गाँजा बरामद गरेको हो।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) भीम खड्काको नेतृत्वमा प्रहरी चौकी कटहरीबाट खटिएको टोलीले राति १२ बजेतिर सवारीसाधन चेकजाँच गर्ने क्रममा शंकास्पद देखिएको को १ ख ४५१८ नम्बरको ट्रक रोकेको थियो।

तरकारीको बोरामुनि लुकाइएको थियो गाँजा

ट्रक खानतलासी गर्दा बन्दागोभीको बोराले छोपेर राखिएको अवस्थामा गाँजाका १०५ बोरा फेला परेका थिए। प्रहरीले ट्रक रोक्ने बित्तिकै चालक भागेका थिए। बरामद गरिएको गाँजा र ट्रक नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा थप अनुसन्धान थालिएको छ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार, पहाडी जिल्लाहरूमा उत्पादन भएको यो गाँजा भारततर्फ तस्करी गर्नका लागि ल्याइएको हुनसक्छ। मोरङमा एकैपटक यति ठूलो परिमाणमा गाँजा बरामद भएको यो नै पहिलो घटना भएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले लागूऔषधको अवैध ओसारपसार नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको र तस्करीको सम्भावित रुटहरूमा निगरानी बढाइएको बताएका छन्। हालै मात्र असार २५ गते धनपालथान गाउँपालिकाबाट ८०२ किलो गाँजा बरामद भएको थियो। चालकको खोजी कार्य जा

री छ।

प्रकाशित मिति: २०२५-०७-१३ , समय : १३:०१:०२ , १४ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित