रङ्गेलीमा शिक्षक सरुवाको विवाद: महासङ्घ र नगरपालिकबीच मतभेद

मिति: २०२५-०७-१७ , समय : २२:२५:३९ , पारस मण्डल

पारस मण्डल

रङ्गेली, श्रावण १: रङ्गेली नगरपालिकाभित्र शिक्षक दरबन्दी मिलान र अन्तर-वार्ड सरुवाको विषयमा नेपाल शिक्षक महासङ्घ, रङ्गेली नगर कार्यसमिति र रङ्गेली नगरपालिकाबीच मतभेद उत्पन्न भएको छ। महासङ्घले दुई दिनअघि, अर्थात् असार २९ गते, एक प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाको निर्णयप्रति आपत्ति जनाएको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, असार २८ गते नगरपालिकामा बसेको सर्वदलीय बैठकले वडाभित्र दरबन्दी मिलान र नगरभित्र शिक्षकको अन्तर-वार्ड सरुवा गर्ने विषयमा सहमति जनाएको थियो। यो निर्णयको ५ नम्बर बुँदामा स्पष्ट रूपमा उल्लेख भएको महासङ्घको भनाइ छ।

यसको विपरीत, २०८१ साल पौष २३ गते नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कार्यपालिका सदस्य तथा नगरभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा भएको अर्को निर्णयमा भने मर्का नपर्ने गरी अन्तर-वार्ड शिक्षक सरुवा गर्ने सहमति भएको थियो। उक्त निर्णयको ७ नम्बर बुँदामा यो कुरा स्पष्ट देख्न सकिन्छ।

यस विषयलाई लिएर शिक्षक महासङ्घका प्रतिनिधि हर्क पौडेल( नेपाल राष्ट्रिय शिक्षक संगठन रङ्गेली नगर कार्य समितिको अध्यक्ष)ले अन्तर-वार्ड शिक्षक सरुवाको विषयमा केही सुधार गर्नुपर्ने भन्दै आपत्ति जनाएका छन्। तर, उनैले केही समयअघि पालिकामा बसेको शिक्षक तथा प्रधानाध्यापकहरूको बैठकबाट दरबन्दी मिलानमा मर्का नपर्ने गरी शिक्षक सरुवा गर्ने निर्णयमा हस्ताक्षर गरेको पनि देखिएको छ।

हाल शिक्षक महासङ्घले आफूहरूसँग सल्लाह नगरी एकलौटी रूपमा यो निर्णय गरिएको भन्दै आपत्ति जनाएको छ। आवर प्रदेशसँगको विशेष कुराकानीमा नेपाल शिक्षक महासङ्घ, रङ्गेलीका अध्यक्ष चिरञ्जीवी काफ्लेले विद्यालयको वातावरण प्रदूषित गर्ने शिक्षकलाई अन्तर-वार्ड सरुवा गर्दा कुनै आपत्ति नरहने र त्यस्ता कुरामा नगरपालिकालाई सहयोग गर्न महासङ्घ तयार रहेको बताएका छन्। यद्यपि, काफ्लेले नगरपालिकाले शिक्षकसम्बन्धी कुनै पनि निर्णय गर्दा महासङ्घलाई संलग्न गराए अझ राम्रो हुने सुझाव दिए।

उता, रङ्गेली नगरपालिकाका मेयर दिलीप कुमार अग्रवालले भने शिक्षकहरूले दिएकै माइनुटिङको आधारमा अन्तर-वार्ड शिक्षक सरुवा गर्ने निर्णय भएको स्पष्ट पारेका छन्।

महासङ्घले राम्रा वा नराम्रा कस्ता खालका शिक्षकलाई सरुवा गर्ने भन्ने विषयमा स्पष्टता नभएपछि अहिले आपत्ति जनाउँदै प्रेस विज्ञप्ति निकालेको हो। अन्तर-वार्ड सरुवा सबै शिक्षकका लागि हो कि जसले विद्यालयको वातावरण बिगारिरहेका छन्, उनीहरूका लागि मात्र हो भन्ने कुरा नखुलाउँदा सम्पूर्ण शिक्षकहरू त्रासमा रहेको काफ्लेले बताए। नगरपालिकाले शिक्षा सम्बन्धीको कुनै पनि सुधारकोलागि महासंघलाई जतिखेर बैठकको लागि बोलाए पनि तयार रहने तथा सुधारको लागि एकबद्धताका साथ खडा हुने तर एकपल्ट सरसल्लाह गर्दा अति उत्तम हुने महासङ्घका अध्यक्ष चिरञ्जीवी काफ्लेले बताए।

प्रकाशित मिति: २०२५-०७-१७ , समय : २२:२५:३९ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्