खुमलटारमा प्रचण्ड-शेखर भेट: सत्ता गठबन्धनमा हलचल, नयाँ समीकरणको सम्भावना!

मिति: २०२५-०७-१७ , समय : २३:१७:३१ , पारस मण्डल

पारस मण्डल

काठमाडौं, साउन २: नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार खुमलटारमा दुई घण्टा लामो भेटवार्ता भएको छ। सत्तारुढ दलका नेताले प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्नुले राजनीतिक वृत्तमा नयाँ चर्चा र सत्ता समीकरण फेरबदलको सम्भावनालाई बल पुर्‍याएको छ।

 

कांग्रेसभित्र संस्थापनइतर पक्षका नेता मानिने डा. कोइराला पछिल्लो समय पार्टीभित्रको अनुशासनात्मक कारबाहीको घटनाबाट असन्तुष्ट छन्। यद्यपि, उनी वर्तमान सत्ता गठबन्धनप्रति असन्तुष्ट नभई प्रधानमन्त्री ओली नेतृत्वको सरकारको कडा आलोचना गर्दै आएका थिए।

उच्च स्रोतका अनुसार, डा. कोइरालाले खुमलटार पुगेर प्रचण्डसँग गरेको भेटमा सत्ता समीकरण फेर्ने विकल्पबारे गम्भीर छलफल भएको छ। स्रोतले भन्यो, “सरकार चारैतिर असफल भएको र मन्त्रीहरू घुसकाण्ड र भ्रष्टाचारमा मुछिएकाले विकल्प खोज्नुपर्ने बेला आएकोबारे छलफल भएको छ।” भेटमा ‘ओलीको विकल्प शेरबहादुर देउवा पनि होइनन्’ भन्ने विषयमा समेत नेताहरूबीच कुराकानी भएको स्रोतको भनाइ छ, जसले नेपालको राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत गरेको छ।

हालै जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार राष्ट्रिय सभामा अल्पमतमा परेको छ। यसै सन्दर्भमा स्रोतले भन्यो, “उपेन्द्रले समर्थन फिर्ता लिनु, भूमि विधेयक पारित गराउन सरकारलाई सकस पर्नु, कांग्रेसमा छानीछानी कारबाही हुनुले राजनीति तरङ्गित छ। यस्तै अवस्था रहे नयाँ गठबन्धन बन्ने सम्भावनाबारे शेखर कोइरालाले औपचारिक सुरुआत गरेका छन्।”

बिहीबारको भेटवार्तामा एउटा रोचक कुरा के छ भने प्रचण्ड र कोइरालाको छलफलका बीचमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि सहभागी थिए। सिंहले यसअघि कांग्रेस परित्याग गरी स्वतन्त्र सांसद बनेका थिए र उनी कांग्रेस सभापति शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाको विरोध गर्दै आएका छन्। यस भेटले आगामी दिनमा नेपालको राजनीतिमा नयाँ समीकरण र ध्रुवीकरणको सम्भावनालाई थप बल पुर्‍याएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति: २०२५-०७-१७ , समय : २३:१७:३१ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्