नाबालिका बलात्कारपछि हत्या गर्ने धनपालथानका अनिशलाई जन्मकैदको फैसला

मिति: २०२५-०७-२१ , समय : २०:५५:१८ , Our Pradesh

Our Pradesh

रङ्गेली, मोरङ: मोरङ जिल्ला अदालतले ७ वर्षीया नाबालिका भतिजीको बलात्कार र हत्याको अभियोगमा २२ वर्षीय अनिश सरदारलाई आजीवन कारावासको सजाय सुनाएको छ। यो फैसला सोमबार (२०८२ साउन ५ गते) थुनछेक बहसकै दिन आएको हो।

मोरङको धनपालथान गाउँपालिका– ५ का अनिश सरदारले गत असार १४ गते राति आफ्नै ७ वर्षीया भतिजीलाई जबर्जस्ती करणी गरी हत्या गरेका थिए। बलात्कारपछि हत्या गरेर उनले घरबाट करिब १०० मिटर टाढा रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा बालिकाको शव फालेका थिए।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत मोरङमा अनिशविरुद्ध मुद्दा दर्ता गरेको थियो। सोमबार बयानपछि थुनछेक बहस भएको थियो। जिल्ला अदालत मोरङका न्यायाधीश बाबुराम सुवेदीको इजलासले अनिशलाई जन्मकैदको सजाय हुने फैसला सुनाएको हो।

अदालतका स्रेस्तेदार मणिराम पोखरेलका अनुसार, बयानका क्रममा आरोपी अनिशले आफ्नो कसुर स्वीकार गरेपछि मुलुकी अपराध संहिताको दफा ४१ बमोजिम तत्कालै फैसला गरिएको हो।

अदालतले अनिशलाई ७ लाख रुपैयाँ जरिवाना र मृतकका परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्तिबापत भराउने फैसला पनि गरेको छ। यस घटनाले नाबालिकामाथि हुने यौन हिंसा र जघन्य अपराधविरुद्ध न्याय स्थापित गर्ने दिशामा महत्त्वपूर्ण कदम चालेको मानि

एको छ।

प्रकाशित मिति: २०२५-०७-२१ , समय : २०:५५:१८ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्