रङ्गेलीमा जनप्रतिनिधिबीच कुटपिटको लज्जास्पद घटना, वडा सदस्यदेखि कार्यपालिका सदस्यसम्म प्रहरी कार्यालयमा धर्ना
मिति: २०२५-१२-१९ , समय : १६:५७:३४ , Our Pradesh
मिति: २०२५-१२-१९ , समय : १६:५७:३४ , Our Pradesh
Our Pradesh
रङ्गेलीका जनप्रतिनिधिक एकअर्कामाथि कुटाकुट, प्रहरी मुखदर्शक

रङ्गेली । मोरङको रङ्गेली नगरपालिका–४ मा जनप्रतिनिधिहरूबीच कुटपिटको घटना भएको आरोपपछि स्थानीय राजनीति तातेको छ। वडा सदस्य रामेश्वर मण्डल माथि हातपात भएको भन्दै इलाका प्रहरी कार्यालय रङ्गेलीमा उजुरी दिइए पनि प्रहरीले कुनै कारबाही नगरेको आरोप लगाउँदै सम्पूर्ण जनप्रतिनिधिहरूले प्रहरी कार्यालय अगाडि धरना दिएका छन्।



वडा अध्यक्ष अवदेश मण्डलका अनुसार बाटो निर्माण कार्यको अनुगमनका क्रममा वडा सदस्य रामेश्वर मण्डलसँगै जाँदा वडा सदस्य मुकेश मण्डलले ‘मल किन नदिएको’ भन्ने विषय उठाउँदै विवाद सिर्जना गरेका थिए। सोही विवादले चर्को रूप लिँदै रामेश्वर मण्डलमाथि हातपात भएको वडा अध्यक्ष मण्डलको आरोप छ।

दिनदहाडै जनप्रतिनिधिमाथि हातपात भएको र त्यसबारे प्रहरीमा निवेदन दिँदा पनि कुनै सुनुवाइ नभएको भन्दै जनप्रतिनिधिहरू आन्दोलित भएका हुन्। “अब जनप्रतिनिधि नै असुरक्षित भएका छौँ, यस्ता घटनामा प्रहरी मुखदर्शक बनेर बस्नु गम्भीर विषय हो,” उनीहरूले आक्रोश व्यक्त गरे।
घटनाबारे इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्सपेक्टर नरेन्द्र बोगटीले जनप्रतिनिधिहरूबीच आपसी विवाद भएको जानकारी आएको बताए। उनले घटनालाई गम्भीरतापूर्वक लिइएको र यथार्थ के हो भन्ने विषयमा बुझ्ने काम भइरहेको जानकारी दिए।

उता, मुकेश मण्डल भने करिब दुई महिना अघि नै वडा सदस्य पदबाट राजीनामा दिइसकेपछि हाल पूर्व वडा सदस्य भइसकेका छन्। उनले आफूलाई वडाबाट निरन्तर वञ्चित र अपहेलित गरिएको आरोप लगाए। साथै आफूले कसैलाई पनि कुटपिट वा हातपात नगरेको र उल्टै आफूलाई नै हातपात गरिएको दाबी गरे।
घटनालाई लिएर रङ्गेली नगरपालिकाको वातावरण तनावग्रस्त बनेको छ भने अब प्रहरीले कस्तो निष्कर्ष निकाल्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।
प्रकाशित मिति: २०२५-१२-१९ , समय : १६:५७:३४ , ३ घन्टा अगाडि