बालिकामाथि बलात्कार आरोपमा सुनवर्षीका वडा सचिव रेग्मी थुनामा, कारागार चलान

मिति: २०२६-०१-०४ , समय : १७:४५:३५ , Our Pradesh

Our Pradesh

बालिकामाथि बलात्कार आरोपमा सुनवर्षीका वडा सचिव रेग्मी थुनामा, कारागार चला

बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मोरङको सुनवर्षी नगरपालिकामा कार्यरत एक जना वडा सचिवलाई अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ। जिल्ला अदालत मोरङले सुनवर्षी नगरपालिका–२ का वडा सचिव ३१ वर्षीय ईश्वरराज रेग्मीलाई कारागार चलान गर्न आदेश दिएको हो।

न्यायाधीश मणिराम ज्ञवालीको इजलासले प्राप्त प्रमाण, पीडितको बयान र अनुसन्धानका प्रारम्भिक नतिजाका आधारमा अभियोग गम्भीर प्रकृतिको रहेको ठहर गर्दै पुस १७ गते थुनामा राख्ने आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

खोटाङको ऐँसेलुखर्क गाउँपालिका–७ स्थायी घर भएका रेग्मीलाई प्रहरीले मंसिर २१ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। उनीमाथि कक्षा १० मा अध्ययनरत १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ।

प्रहरीका अनुसार मंसिर १४ गते राति रेग्मीले बालिकालाई आफ्नै कोठामा राखी बलात्कार गरेको भनी पीडित पक्षबाट जाहेरी परेको थियो। घटनाका दिन बालिका साथीको जन्मदिनमा सहभागी हुन भन्दै घरबाट निस्किएकी थिइन्। भोलिपल्ट पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजतलासका क्रममा बालिका फेला परेकी थिइन्।

सोधपुछका क्रममा बालिकाले घटनाबारे खुलाएपछि मुद्दाले औपचारिक रूप लिएको थियो। प्रहरीले आवश्यक प्रमाण संकलन गरी जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान पूरा गर्दै मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको थियो। त्यसपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालत मोरङमा अभियोगपत्र दायर गरेको हो।

अदालतमा अभियुक्तको बयान सम्पन्न भएपछि वादी नेपाल सरकार र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच थुनछेक बहस भएको थियो। बहसपछि अदालतले अभियुक्तलाई थुनामै राख्न आदेश दिएको र त्यसअनुसार रेग्मीलाई जिल्ला कारागार मोरङ चलान गरिएको सूचना अधिकारी बुढाथोकीले बताए। अब यस मुद्दामा थप सुनुवाइपछि अन्तिम फैसला आउनेछ।

प्रकाशित मिति: २०२६-०१-०४ , समय : १७:४५:३५ , २ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित