रंगेलीमा नक्कली नोटसहित एक जना पक्राउ, पाँचवटा नोट बरामद
मिति: २०२६-०१-२८ , समय : १०:२९:४६ , Our Pradesh
मिति: २०२६-०१-२८ , समय : १०:२९:४६ , Our Pradesh
Our Pradesh
रंगेलीमा नक्कली नोटसहित एक जना पक्राउ, पाँचवटा नोट बराम
मोरङको रंगेली नगरपालिकामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन्। रंगेली प्रहरीका अनुसार, मंगलबार राति रंगेली–२ का ४५ वर्षीय सहमद हुसेनलाई पक्राउ गरिएको हो।


प्रहरीका अनुसार, हुसेनले नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल खरिद गर्दा र उज्वल ढकालको किराना पसलमा उधारो तिर्दा १ हजार दरका नक्कली नोट प्रयोग गरेका थिए। नोट शंकास्पद देखिएपछि दुबै पसलका सञ्चालकहरूले प्रहरीलाई जानकारी गराएका थिए।
घटना पछि प्रहरी टोली घटनास्थलमा पुगेको र सोधपुछका क्रममा हुसेनको घरमा समेत नक्कली नोट रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोली राति ८ बजेतिर उनी घर पुगेको थियो।
खानतलासी गर्दा हुसेनले चलाएको प्रदेश १–०१–००४ ह ०६३७ नम्बरको सीटी सफारीको चालक सिटमा १ हजार दरका दुईवटा नक्कली नोट फेला परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। त्यसैगरी, उनको साथबाट पनि अर्को नक्कली नोट बरामद भएको छ।
यसरी, पसलमा दिएको, साथबाट प्राप्त र सवारी साधनमा फेला परेको गरी जम्मा पाँचवटा नक्कली नोटसहित हुसेनलाई पक्राउ गरी हिरासतमा राखिएको छ।
प्रहरीले नक्कली नोटको धन्दामा ठूला गिरोह संलग्न हुन सक्ने अनुमान गरेको छ। उनीहरूले हालसम्म हुसेनले नोट कहाँबाट ल्याए र कसले दिएको हो भन्ने पुष्टि भइसकेको छैन। विभिन्न कोणबाट अनुसन्धान गरेर नक्कली नोटको कारोबारमा संलग्न गिरोहसम्म पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।



प्रकाशित मिति: २०२६-०१-२८ , समय : १०:२९:४६ , ७ दिन अगाडि