दिलिप बगडियाको उदयसँगै राष्ट्रिय स्वतन्त्र पार्टीमा ठूलो धक्का — मोरङ–२ मा शक्ति सन्तुलन फेरिँदै

मिति: २०२६-०२-२८ , समय : ०८:२५:२१ , Our Pradesh

Our Pradesh

मोरङ क्षेत्र नम्बर २ मा राजनीतिक समीकरण फेरि एकपटक चर्चाको केन्द्रमा आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का पूर्व उम्मेदवार , प्रदेश कमिटी सदस्य तथा प्रभावशाली नेता ठगेन्द्र प्रसाद न्यौपानेले नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेसँगै स्थानीय राजनीति थप तरंगित बनेको हो।

गत वर्षको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका न्यौपानेले करिब ६ हजार मत प्राप्त गरेका थिए। स्थानीय तहमा उनलाई सहनशील, इमान्दार र सरल नेताका रूपमा हेरिने गरेको पाइन्छ। यस्ता व्यक्तित्वको पार्टी परिवर्तनले स्वाभाविक रूपमा क्षेत्रीय राजनीतिमा प्रभाव पार्ने आकलन गरिएको छ।

न्यौपानेसँगको विशेष कुराकानीमा उनले पार्टीभित्र आफूहरूलाई अपेक्षित सम्मान नदिएको, निर्णय प्रक्रियामा एकलौटी ढंगले अगाडि बढाइएको जस्ता गुनासा व्यक्त गरेका छन्। यिनै असन्तुष्टिका कारण आफूले नयाँ राजनीतिक यात्रा रोजेको संकेत दिएका छन्।

उनको एमाले प्रवेशसँगै मोरङ क्षेत्र नम्बर २ मा एमालेको आधार थप मजबुत हुने विश्लेषण गरिएको छ। यस क्षेत्रबाट एमालेका प्रभावशाली नेता दिलिप बगडिया सक्रिय रूपमा मैदानमा उत्रिएका छन्। पछिल्लो समय यहाँ एमाले र नेपाली कांग्रेस दुवै बलियो रूपमा प्रस्तुत हुँदै आएका छन्।

चुनाव नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका एक प्रभावशाली नेताको बहिर्गमनलाई केही स्थानीयले पार्टीका लागि ठूलो क्षतिका रूपमा व्याख्या गरेका छन्। समग्रमा, मोरङ क्षेत्र नम्बर २ मा राजनीतिक प्रतिस्पर्धा अझै रोचक र तिव्र बन्दै गएको देखिन्छ।

प्रकाशित मिति: २०२६-०२-२८ , समय : ०८:२५:२१ , ३ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित