कोशीका तीन जिल्लामा बर्डफ्लू पुष्टि, पन्छीजन्य वस्तुको ओसारपसारमा दुई हप्तासम्म पूर्ण प्रतिबन्ध

मिति: २०२६-०३-२७ , समय : ०८:४३:२९ , Our Pradesh

Our Pradesh

कोशीका तीन जिल्लामा बर्डफ्लू पुष्टि, पन्छीजन्य वस्तुको ओसारपसारमा दुई हप्तासम्म पूर्ण प्रतिबन्ध

कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा बर्डफ्लू संक्रमण पुष्टि भएपछि पन्छी तथा पन्छीजन्य वस्तुहरूको ओसारपसारमा पूर्ण रोक लगाइएको छ।

 

संक्रमण थप फैलिन नदिन पशु सेवा विभाग र सरोकारवाला निकायहरूको निर्णयअनुसार प्रभावित तथा जोखिमयुक्त क्षेत्रबाट कुखुरा, अण्डा, मासु र सुलीको ढुवानीमा कम्तीमा दुई सातासम्म प्रतिबन्ध लगाइएको हो। विभिन्न कुखुरा फार्महरूमा संक्रमण पुष्टि भएसँगै नियन्त्रणका उपायहरू कडाइका साथ लागू गरिएको छ।

 

प्रतिबन्धसँगै यी जिल्लाबाट सिमाना जोडिएका धनकुटा, पाँचथर, इलाम, उदयपुर र सप्तरी जिल्लामा समेत पन्छीजन्य वस्तुको ओसारपसार तथा बिक्री वितरणमा रोक लगाइएको छ।

 

पवनराज कोइराला (सहायक प्रमुख जिल्ला अधिकारी, मोरङ) का अनुसार संक्रमण पुष्टि भएका फार्म वरपर २० मिटर क्षेत्रलाई संकटग्रस्त घोषणा गरी आवतजावत नियन्त्रण गरिएको छ। संक्रमण जोखिम विस्तार हुँदै गएपछि निगरानी र नियन्त्रणलाई थप प्रभावकारी बनाइएको छ।

 

गृह मन्त्रालय तथा पशु सेवा विभागको समन्वयमा भएको निर्णयअनुसार संक्रमणको चक्र तोड्न ओसारपसारमा रोक लगाइएको हो। यसबाट अन्य जिल्लामा संक्रमण फैलिन नदिने अपेक्षा गरिएको छ।

 

सरोकारवाला निकायहरूले किसान, व्यवसायी तथा उपभोक्तालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। शंकास्पद वा संक्रमित पन्छी देखिएमा तत्काल जानकारी गराउन र कुखुरा फार्महरूमा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ।

 

हालसम्म मोरङ, सुनसरी र झापाका ११ स्थानमा बर्डफ्लू पुष्टि भइसकेको छ। भारतमा समेत संक्रमण फैलिँदै गएकाले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

पूर्वी नेपालमा फैलँदै गएको यस संक्रमणले कुखुरापालन व्यवसायमा प्रत्यक्ष असर पारेको छ भने समयमै नियन्त्रण गर्न नसके आर्थिक तथा जनस्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम रहेको बताइएको छ।

प्रकाशित मिति: २०२६-०३-२७ , समय : ०८:४३:२९ , ४ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित