रेबिज खोप अभावले सेवाग्राही मारमा

मिति: २०२६-०४-०३ , समय : १६:४१:३९ , Our Pradesh

Our Pradesh

कोशी प्रदेशमा रेबिज विरुद्धको खोप अभावको समस्या अझ गम्भीर बन्दै गएको छ।

कोशी प्रदेशका सरकारी अस्पतालहरूमा कुकुरको टोकाइपछि लगाइने रेबिज विरुद्धको निःशुल्क खोप विगत एक महिनादेखि अभाव रहेको पाइएको छ। प्रदेशभरका कुनै पनि सरकारी स्वास्थ्य संस्थामा खोप उपलब्ध नभएको भन्दै सेवाग्राहीहरूले गुनासो गरेका छन्।

 

यसैबीच, मोरङको रंगेलीका एक स्थानीयलाई कुकुरले टोकेपछि उपचारका लागि रंगेली अस्पताल पुगेका थिए। तर अस्पतालमै खोप उपलब्ध नभएपछि उनले बाध्य भएर तीन पटकसम्म बाहिरबाट खोप खरिद गरेर लगाउनुपरेको अवस्था आएको छ।

 

सामान्यतया करिब रु. ६५० पर्ने उक्त खोप बारम्बार किनेर लगाउनुपर्दा आर्थिक रूपमा विपन्न वर्गका नागरिकहरूलाई थप समस्या परेको छ। निःशुल्क पाउनुपर्ने अत्यावश्यक स्वास्थ्य सेवा नै अभावमा पर्दा सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन्।

 

सेवाग्राहीहरूले स्वास्थ्य मन्त्रालयको गुनासो नम्बरमा पटक–पटक सम्पर्क गर्दा पनि अहिलेसम्म समस्या समाधान नभएको बताएका छन्। यस्तो संवेदनशील विषयमा सम्बन्धित निकायले समयमै ध्यान नदिँदा नागरिकहरू जोखिममा परेको भन्दै चासो र आक्रोश बढ्दै गएको छ।

सरकारले तत्काल खोप आपूर्ति सुनिश्चित गरी नागरिकको स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने देखिएको छ।

प्रकाशित मिति: २०२६-०४-०३ , समय : १६:४१:३९ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित