मोरङ रतुवामाईमा लागूऔषधसहित एक युवक पक्राउ, नियन्त्रणमा लिन प्रहरीले हवाई फायर
मिति: २०२६-०४-२१ , समय : १२:०१:१७ , पारस मण्डल
मिति: २०२६-०४-२१ , समय : १२:०१:१७ , पारस मण्डल
पारस मण्डल
मोरङमा लागूऔषधसहित एक युवक पक्राउ, नियन्त्रणमा लिन प्रहरीले हवाई फायर


मोरङ, ७ वैशाख — भारतबाट लागूऔषध ब्राउन सुगर ल्याउँदै गरेका एक युवकलाई नियन्त्रणमा लिन मोरङको रतुवामाई नगरपालिकामा प्रहरीले सोमबार राति दुई राउन्ड हवाई फायर गरेको छ।


रतुवामाई–१ हटियाडाँडा (सोनापुर) क्षेत्रमा राति करिब ८:२० बजेतिर भारतीय नम्बर प्लेट BR 38 AD 5390 भएको मोटरसाइकलमा सवार युवकलाई शंका लागेर इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले रोक्न खोज्दा उनी भाग्न लागेपछि प्रहरीले हवाई फायर गरेको थियो।


मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार, प्रहरी टोली देख्ने बित्तिकै मोटरसाइकल चालक भाग्न खोजेपछि नियन्त्रणमा लिनका लागि प्रहरी निरीक्षक कैलाश लिम्बुको नेतृत्वमा रहेको टोलीले TPY54 नम्बरको पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि युवकलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको थियो।

पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–१ हटियाडाँडा बस्ने मोहम्मद सफिद मियाको छोरा २१ वर्षीय मोहम्मद आविद मिया रहेका छन्। उनको साथबाट कालो प्लास्टिकभित्र ५ वटा पोका बनाएर लुकाइएको ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ। उक्त पदार्थको कुल तौल ४७५ ग्राम ८२० मिलिग्राम रहेको एसपी कटवालले बताए।

प्रहरीले आविद मियालाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिजुवामा राखेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०४-२१ , समय : १२:०१:१७ , ५ महिना अगाडि