विराटनगरका स्पा सेन्टरमा प्रहरीको ‘स्विप अपरेसन’ : ३६ जना नियन्त्रणमा
मिति: २०२६-०४-२५ , समय : २०:३०:०४ , Our Pradesh
मिति: २०२६-०४-२५ , समय : २०:३०:०४ , Our Pradesh
Our Pradesh
विराटनगरका स्पा सेन्टरमा प्रहरीको ‘स्विप अपरेसन’ : ३६ जना नियन्त्रणम
कोशी प्रदेशको राजधानी विराटनगरका विभिन्न स्पा तथा मसाज सेन्टरहरूमा प्रहरीले शनिबार साँझ व्यापक ‘स्विप अपरेसन’ सञ्चालन गर्दै ३६ जनालाई नियन्त्रणमा लिएको छ।

विराटनगर महानगरपालिका–१३, १४ र १५ मा सञ्चालित स्पा केन्द्रहरूलाई लक्षित गरी इलाका प्रहरी कार्यालय रानीबाट खटिएको विशेष टोलीले आकस्मिक छापा मारेको हो। अवैध तथा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा लामो समयदेखि निगरानीमा रहेका स्पाहरूमा एकैपटक कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा केही स्पा केन्द्रहरू यौनजन्य अवैध गतिविधिको आवरणका रूपमा प्रयोग भइरहेको आशंका गरिएको छ। खुला सीमा क्षेत्रको प्रभावका कारण यस्ता गतिविधि बढेको अनुमान गर्दै नियन्त्रणमा लिइएकामध्ये केही भारतीय नागरिकसमेत रहेको प्रहरी स्रोतले जनाएको छ।

विराटनगर–१४ मा सञ्चालित ‘किपु स्पा’मा कानुनी मापदण्ड उल्लंघन भएको पाइएपछि सञ्चालकसहित कर्मचारीहरू पक्राउ परेका छन्। उक्त स्पा बिना आवश्यक अनुमति र कर्मचारीको परिचयपत्रबिना सञ्चालन भइरहेको भेटिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले सो स्पाका सञ्चालक निलमदेवी शर्मा र भारत, बिहारका राजकुमार चन्द्रवंशीलाई पक्राउ गरेको छ। साथै, कर्मचारीका रूपमा कार्यरत तीर्थमाया भुजेल, रेखा राई र पार्वती नुनियासहित अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिइएको छ।
अन्य स्पा केन्द्रहरूबाट पक्राउ परेकाहरूमाथि सोधपुछ जारी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मापदण्डविपरीत सञ्चालन हुने संस्थामाथि कडाइ निरन्तर रहने प्रहरीको चेतावनी छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार स्पा तथा मसाज सेन्टरहरूमा यौनजन्य गतिविधि भइरहेको आशंकामा यो अपरेसन सञ्चालन गरिएको हो। साथै, लागूऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा जुवातास नियन्त्रण अभियान पनि सँगसँगै प्रभावकारी रूपमा अगाडि बढाइएको उनले बताए।
प्रकाशित मिति: २०२६-०४-२५ , समय : २०:३०:०४ , ५ महिना अगाडि