रङ्गेलीका वडाध्यक्ष रास्वपामा, एमालेद्वारा पद खारेजी प्रक्रिया अगाडि
मिति: २०२६-०५-२८ , समय : २३:११:५१ , Our Pradesh
मिति: २०२६-०५-२८ , समय : २३:११:५१ , Our Pradesh
Our Pradesh
मोरङ । नेकपा एमाले मोरङले पार्टीबाट निर्वाचित भएर अन्य राजनीतिक दलमा आबद्ध भएका दुई जना वडाध्यक्षको पद खारेज गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने प्रक्रिया अघि बढाएको छ ।



एमाले मोरङका जिल्ला सचिव सोमराज थापाका अनुसार रङ्गेली नगरपालिका–१ का वडा अध्यक्ष महेश खनाल र लेटाङ नगरपालिका–४ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेपछि उनीहरूको पद रिक्त गराउन कानूनी प्रक्रिया सुरु गरिएको हो ।


रङ्गेली–१ का वडा अध्यक्ष खनाल हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् भने लेटाङ–४ का वडा अध्यक्ष श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन् ।
जिल्ला सचिव थापाका अनुसार जिल्ला कमिटीको सिफारिसपछि एमालेको केन्द्रीय कमिटीले निर्वाचन आयोगलाई आधिकारिक पत्राचार गर्नेछ । “निर्वाचन आयोगको प्रक्रिया अनुसार केन्द्रबाट प्रमाणसहित पत्र जानुपर्छ । त्यसपछि आयोगले सूचना प्रकाशित गर्नेछ र करिब १५ दिनभित्र पद रिक्त हुने प्रक्रिया टुंगिन सक्छ,” उनले बताए ।
एमाले मोरङको हालै बसेको पदाधिकारी बैठकले पार्टी अनुशासन उल्लंघन गर्दै दल परिवर्तन गर्ने जनप्रतिनिधिमाथि कानूनी कारबाही अगाडि बढाउने निर्णय समेत गरेको जनाएको छ ।
प्रकाशित मिति: २०२६-०५-२८ , समय : २३:११:५१ , ४ महिना अगाडि