धनपालथान–३ मा ‘सुरक्षित सडक अभियान’ कार्यक्रम सम्पन्न
मिति: २०२६-०६-०३ , समय : २०:४४:५३ , Our Pradesh
मिति: २०२६-०६-०३ , समय : २०:४४:५३ , Our Pradesh
Our Pradesh
धनपालथान–३ मा ‘सुरक्षित सडक अभियान’ कार्यक्रम सम्पन्न



मोरङ । धनपालथान गाउँपालिकामा ‘सुरक्षित सडक अभियान’ अन्तर्गत ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । धनपालथान-३ स्थित श्री शिवशक्ति माध्यमिक विद्यालयमा बुधबार आयोजित कार्यक्रममा कक्षा ७, ८, ९ र १० मा अध्ययनरत विद्यार्थी, सुरक्षा निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।



एमआई मिडिया हाउसको आयोजना, धनपालथान गाउँपालिका ३ नम्बर वडाको समन्वय र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कर्सिया प्रहरी बिटका इन्चार्ज सुवास अधिकारी र कर्सिया ट्राफिक बिटका इन्चार्ज राजाराम यादवले ट्राफिक नियम, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक प्रयोगसम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।

उनीहरूले ट्राफिक नियमको आधारभूत जानकारीका साथै सुरक्षित रूपमा सडक पार गर्ने तरिका, पैदल यात्रुको सुरक्षा, साइकल तथा मोटरसाइकल सुरक्षा, आपत्कालीन अवस्थामा के गर्ने ? र सडक सुरक्षामा विद्यार्थीको भूमिका के हुन्छ भन्नेबारे जानकारी गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोरङ ट्राफिक प्रहरी प्रमुख सन्तोष न्यौपानेले सडक सुरक्षामा सबैको समान दायित्व रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई ट्राफिक नियमको पालना गर्दै सुरक्षित रूपमा सडक प्रयोग गर्न आग्रह गरे । उनले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि नागरिक, विद्यालय, स्थानीय सरकार र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताए ।

यस्तै, वडाध्यक्ष नागेश्वर मण्डलले विद्यालय तहका विद्यार्थीहरू अत्यन्त जिज्ञासु र सिक्न इच्छुक हुने भएकाले उनीहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको बताए । बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै गाउँपालिका र सरोकारवाला निकायसँगको समन्वयमा सुरक्षित सडक अभियान सञ्चालन गरिएको उनको भनाइ थियो ।

यसैगरी, एमआई मिडिया हाउसका सञ्चालक पारस मण्डलले सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले ट्राफिक नियम, सडक संकेत तथा दुर्घटनाबाट बच्ने उपायबारे जिज्ञासा राखेका थिए भने प्रशिक्षकहरूले उनीहरूको प्रश्नको जवाफ दिएका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय मायागञ्ज इन्चार्ज गजेन्द्र कटवाल, शिवशक्ति माविका प्रधानाध्यापक गुणेन्द्रकुमार मण्डल, वडासदस्यहरू, वडासचिव, शिक्षक-शिक्षिकालगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२६-०६-०३ , समय : २०:४४:५३ , ४ महिना अगाडि