मधेसी आयोगद्वारा सुनवर्षीमा नैतिक शिक्षा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

मिति: २०२६-०६-१२ , समय : ०८:२२:५७ , Our Pradesh

Our Pradesh

मधेसी आयोगद्वारा सुनवर्षीमा नैतिक शिक्षा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

सुनवर्षी । मधेसी समुदायको हक, अधिकार, सामाजिक चेतना तथा नैतिक मूल्य अभिवृद्धि गर्ने उद्देश्यले मधेसी आयोगद्वारा सञ्चालन गरिएको जनचेतनामूलक कार्यक्रम अन्तर्गत “इच्छा नैतिकवान मधेस र सशक्त नैतिक शिक्षा” विषयक कार्यक्रम सुनवर्षी नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।

 

मिति २०८३ जेठ २८ गते बिहीबार आयोजित कार्यक्रममा मधेसी आयोगका सदस्य माननीय रेणु देवी शाह प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टल, सुनवर्षी नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद राजवंशी, उपप्रमुख मिरा देवी दास, रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह, सुनवर्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमालय बराल, पूर्व प्रेस काउन्सिल सदस्य तथा लैङ्गिक समानता र सामाजिक अभियन्ता निमा काफ्ले लगायत जनप्रतिनिधि, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, बुद्धिजीवी, महिला प्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहले मधेसी समुदायका पछाडि पारिएका, अवसरबाट वञ्चित तथा आफ्ना अधिकारका विषयमा आवाज उठाउन नसकेका नागरिकहरूको सशक्तीकरण आवश्यक रहेको बताउनुभयो। उहाँले मधेसी समुदायको आवाजलाई बुलन्द बनाउने, सामाजिक न्याय सुनिश्चित गर्ने तथा राज्यका हरेक निकायमा समान पहुँच स्थापित गर्ने उद्देश्यका साथ आयोगले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

उहाँले अझै पनि देशका विभिन्न स्थानमा नागरिकता लगायतका आधारभूत अधिकारबाट वञ्चित मधेसी समुदायका नागरिकहरू रहेको उल्लेख गर्दै नागरिकता प्राप्तिको प्रक्रियालाई थप सहज, स्पष्ट र कानुनसम्मत बनाउन सम्बन्धित निकायले पहल गर्नुपर्नेमा जोड दिनुभयो। कानुनी व्यवस्था र नागरिक अधिकारका विषयमा जनस्तरसम्म स्पष्ट जानकारी पुग्न आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा वक्ताहरूले नैतिक शिक्षा, सामाजिक सद्भाव, लैङ्गिक समानता, सुशासन तथा समावेशी विकासका विषयमा आ–आफ्नो धारणा राख्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सचेतना अभिवृद्धि अपरिहार्य रहेको बताए। उनीहरूले मधेसी समुदायको सामाजिक, शैक्षिक तथा आर्थिक सशक्तीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

 

सहभागीहरूले कार्यक्रमले अधिकार, कर्तव्य, नागरिकता, सामाजिक समावेशीकरण तथा नैतिक शिक्षाका विषयमा महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए। मधेसी समुदायको उत्थान, समान अवसरको सुनिश्चितता तथा सामाजिक एकताको सन्देश प्रवाह गर्दै कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०२६-०६-१२ , समय : ०८:२२:५७ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित