नेपाली कांग्रेसका ५ लाख ३८ हजारभन्दा बढी सदस्यको सदस्यता अध्यावधिक
मिति: २०२६-०६-१२ , समय : ०९:०९:१९ , Our Pradesh
मिति: २०२६-०६-१२ , समय : ०९:०९:१९ , Our Pradesh
Our Pradesh
नेपाली कांग्रेसका ५ लाख ३८ हजारभन्दा बढी सदस्यको सदस्यता अध्यावधि
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत हालसम्म ५ लाख ३८ हजार ६ सय २२ जनाको सदस्यता अध्यावधिक भएको जनाएको छ।



पार्टीले बिहीबार राति विज्ञप्ति जारी गर्दै सदस्यता अध्यावधिक प्रक्रियाबारे जानकारी दिएको हो। विज्ञप्तिअनुसार १ लाख ४९ हजार ३ सय ९ जना सदस्यले स्वयं अध्यावधिक फाराम पेस गरी सम्बन्धित वडा सभापतिमार्फत अध्यावधिक प्रक्रियामा सहभागी भएका छन्।


कांग्रेसले देशभर रहेका कुल ७ लाख ८२ हजार २ सय ९ जना क्रियाशील सदस्य अध्यावधिकका लागि योग्य रहेको जनाएको छ। पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले सदस्यता अध्यावधिक अभियान सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यद्यपि सदस्यता अध्यावधिकको विषयलाई लिएर पार्टीभित्र मतभेद देखिएको छ। संस्थापन इतर समूहका नेताहरूले अध्यावधिक प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विभिन्न प्रश्न उठाएका छन्। यही विषयलाई लिएर कांग्रेसभित्र आन्तरिक विवाद समेत चर्किंदै गएको राजनीतिक वृत्तमा चर्चा छ।
तर संस्थापन पक्षले भने निर्धारित विधि, प्रक्रिया र मापदण्डअनुसार सदस्यता अध्यावधिक कार्य भइरहेको दाबी गर्दै यसले पार्टी संगठनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने जनाएको छ।
सदस्यता अध्यावधिकलाई कांग्रेसको आगामी संगठनात्मक गतिविधि तथा महाधिवेशन तयारीसँग समेत जोडेर हेरिएको छ। पार्टी नेतृत्वले समयमै अध्यावधिक प्रक्रिया सम्पन्न गरी संगठनलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।
प्रकाशित मिति: २०२६-०६-१२ , समय : ०९:०९:१९ , ३ महिना अगाडि