सुनबर्सीमा शिक्षा सुधारको नयाँ अभियान : संस्थागत विद्यालयको शुल्क र वर्गीकरण लागू, मेयर राजबंशीको निर्णयको चौतर्फी प्रशंसा
मिति: २०२६-०६-१४ , समय : ०८:१८:०२ , Our Pradesh
मिति: २०२६-०६-१४ , समय : ०८:१८:०२ , Our Pradesh
Our Pradesh
सुनबर्सीमा शिक्षा सुधारको नयाँ अभियान : संस्थागत विद्यालयको शुल्क र वर्गीकरण लागू, मेयर राजबंशीको निर्णयको चौतर्फी प्रशंसा
मोरङ, सुनबर्सी

सुनबर्सी नगरपालिकाले शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधारको कदम चाल्दै नगरभित्र सञ्चालित संस्थागत विद्यालयहरूको वर्गीकरण तथा शुल्क निर्धारण गरेको छ। यस निर्णयसँगै अब विद्यालयहरूले आफूखुसी शुल्क लिन नपाउने भएका छन् भने अभिभावकहरूलाई अनावश्यक आर्थिक भारबाट राहत मिल्ने अपेक्षा गरिएको छ।




नगरपालिकाले संस्थागत विद्यालयलाई क, ख, ग, घ र ङ गरी पाँच वर्गमा विभाजन गरेको छ। सोही वर्गीकरणका आधारमा विद्यालयहरूले शुल्क लिन पाउने व्यवस्था गरिएको छ। नगरपालिकाको निर्णयअनुसार नर्सरी कक्षाको मासिक शुल्क ७०० रुपैयाँदेखि १३०० रुपैयाँसम्म तथा कक्षा १० सम्मका विद्यार्थीबाट १९०० रुपैयाँदेखि अधिकतम २५०० रुपैयाँसम्म मात्रै शुल्क लिन पाइनेछ। यसभन्दा बढी शुल्क लिएमा सम्बन्धित विद्यालयलाई कानुनी कारबाही गरिने नगरपालिकाले स्पष्ट पारेको छ।


नगर प्रमुख श्याम प्रसाद राजबंशीले सुनबर्सी नगरपालिकाभित्र विभिन्न आर्थिक अवस्थाका परिवारहरू बसोबास गर्ने भएकाले शिक्षा सबैको पहुँचमा हुनुपर्ने बताए। उनले भने, “हाम्रो नगरमा धनीदेखि विपन्न वर्गसम्मका नागरिक छन्। विद्यालयहरूले मनपरी शुल्क असुल्दा अभिभावकहरू आर्थिक रूपमा मारमा परेको गुनासो निरन्तर आइरहेको थियो। त्यसैले सबैको हितलाई ध्यानमा राखेर विद्यालयको वर्गीकरण र शुल्क निर्धारण गरेका हौं।”
उनले नगरपालिकाको निर्णय कार्यान्वयन गर्न सबै विद्यालयलाई आग्रह गर्दै कसैले नियम उल्लङ्घन गरेमा कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिए।
नगरपालिकाको यो निर्णयलाई स्थानीयवासीहरूले शिक्षा क्षेत्रमा भएको साहसी र दूरदर्शी कदमका रूपमा लिएका छन्। धेरै अभिभावकले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा नागरिकको हितलाई केन्द्रमा राखेर निर्णय गर्ने नगर प्रमुख राजबंशीको नेतृत्वको खुलेर प्रशंसा गरेका छन्।
स्थानीयहरूको भनाइमा, शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउने, अभिभावकको आर्थिक भार घटाउने र निजी विद्यालयलाई जवाफदेही बनाउने यो निर्णयले सुनबर्सी नगरपालिकालाई शिक्षा सुधारको उदाहरणीय पालिकाका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।
नगर प्रमुख राजबंशीले देखाएको दृढ इच्छाशक्ति र नागरिकप्रतिको जिम्मेवारीले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तनको आशा जगाएको छ। शिक्षा सबैका लागि सहज र सर्वसुलभ बनाउने उनको अभियानलाई स्थानीय समुदायले उत्साहपूर्वक स्वागत गरेका छन्।
प्रकाशित मिति: २०२६-०६-१४ , समय : ०८:१८:०२ , ३ महिना अगाडि