बत्ती काटिएको भनिएको लाइन कसरी चल्यो? पोलमै ज्यान गुमाए विद्युत प्राधिकरणका कर्मचारी, लापरवाहीबारे गम्भीर प्रश्न”
मिति: २०२६-०६-१९ , समय : २२:५६:१९ , Our Pradesh
मिति: २०२६-०६-१९ , समय : २२:५६:१९ , Our Pradesh
Our Pradesh
“बत्ती काटिएको भनिएको लाइन कसरी चल्यो? पोलमै ज्यान गुमाए विद्युत प्राधिकरणका कर्मचारी, लापरवाहीबारे गम्भीर प्रश्न”
रङ्गेली/मोरङ, असार ५ – मोरङको रतुवामाई नगरपालिका–१ झुलङ्गे पुल नजिक विद्युतको पोलमा चढेर मर्मत कार्य गरिरहेका नेपाल विद्युत प्राधिकरण रङ्गेली वितरण केन्द्रका एक कर्मचारीको करेन्ट लागेर दुःखद निधन भएको छ।


मृत्यु हुनेमा रतुवामाई नगरपालिका–४ निवासी करिब ४५ वर्षीय सुरजा मण्डल रहेका छन्। आज दिउँसो करिब १ बजेतिर पोलमा चढेर काम गरिरहेका बेला अचानक ११ हजार भोल्टेजको लाइन सञ्चालनमा आएपछि उनी गम्भीर घाइते भएका थिए। घटनापछि उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ।



घटनापछि स्थानीयवासी र मृतकका आफन्तले नेपाल विद्युत प्राधिकरणको गम्भीर लापरवाहीका कारण यस्तो दुर्घटना भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार काम सुरु गर्नुअघि विद्युत आपूर्ति बन्द गरिएको जानकारी दिइएको थियो। तर कर्मचारी पोलमै चढेर काम गरिरहेका बेला अचानक लाइन सञ्चालनमा आउनु अत्यन्तै गम्भीर विषय भएको उनीहरूको भनाइ छ।

नेपाल विद्युत प्राधिकरण रङ्गेली वितरण केन्द्रका प्रमुखले घटनाप्रति दुःख व्यक्त गर्दै आफूहरू पनि घटनाबाट अचम्मित भएको बताएका छन्। उनका अनुसार काम गर्नुअघि विद्युत आपूर्ति काटिएको जानकारी थियो, तर त्यसपछि कसरी लाइन सञ्चालनमा आयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
यद्यपि, स्थानीयवासी र आफन्तको प्रश्न भने उस्तै छ— यदि लाइन काटिएको थियो भने फेरि कसले र किन सञ्चालन गर्यो? सुरक्षा मापदण्ड पालना भएको थियो कि थिएन? एउटा कर्मचारीले आफ्नो ज्यान गुमाइसकेपछि यसको जिम्मेवारी कसले लिने?
आफन्तहरूले घटनाबारे सुरुदेखि नै स्पष्ट जानकारी नदिइएको र प्राधिकरणले विषयलाई बाहिर आउन नदिन खोजेको समेत आरोप लगाएका छन्। हाल पीडित परिवार, आफन्त र स्थानीयवासी अस्पतालमा भेला भएका छन् भने घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिरहेका छन्।
यो घटना केवल एउटा दुर्घटना मात्र हो कि लापरवाहीको परिणाम हो भन्ने प्रश्न अहिले गम्भीर रूपमा उठेको छ। सत्य तथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायमाथि दबाब बढिरहेको छ।
प्रकाशित मिति: २०२६-०६-१९ , समय : २२:५६:१९ , ३ महिना अगाडि