रङ्गेली नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवमणि कटुवालद्वारा राजीनामा, स्वास्थ्य र पारिवारिक कारण मुख्य

मिति: २०२६-०६-२० , समय : १२:३४:३४ , Our Pradesh

Our Pradesh

रङ्गेली । रङ्गेली नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवमणि कटुवालले आफ्नो पदबाट राजीनामा दिएका छन्। विगत चार वर्षदेखि अस्पतालको नेतृत्व सम्हाल्दै आएका कटुवालले स्वास्थ्य अवस्था तथा पारिवारिक जिम्मेवारीलाई प्राथमिकता दिँदै पदबाट अलग हुने निर्णय गरेका हुन्।

रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहका अनुसार कटुवालले करिब दुई हप्ता अगाडि नै राजीनामा बुझाएका थिए। तर हालसम्म उक्त राजीनामा स्वीकृत भइनसकेको उनले जानकारी दिए।

 

प्रमुख प्रशासकीय अधिकृत शाहका अनुसार कटुवालले कार्यव्यस्तता, स्वास्थ्य समस्यासँगको संघर्ष र परिवारलाई पर्याप्त समय दिन नसकेको कारण देखाउँदै राजीनामा दिएका हुन्। अब आफूलाई भन्दा परिवारलाई आफ्नो बढी आवश्यकता रहेको महसुस भएपछि अस्पतालको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको उनले बताएका छन्।

 

कटुवालको नेतृत्वमा रङ्गेली नगर अस्पतालले उल्लेखनीय प्रगति हासिल गरेको थियो। अस्पतालको व्यवस्थापन व्यवस्थित बन्नुका साथै सेवा प्रवाह प्रभावकारी र सरसफाइ उत्कृष्ट रहँदै आएको थियो। यसले अस्पतालप्रति स्थानीय नागरिकहरूको विश्वास अझ मजबुत बनाएको थियो।

 

गम्भीर रोगसँग संघर्ष गरिरहँदा पनि कटुवालले आफ्नो जिम्मेवारीबाट पछि नहटी निरन्तर अस्पतालको सेवामा सक्रियता देखाएका थिए। व्यक्तिगत पीडाभन्दा सेवाभावलाई प्राथमिकता दिँदै उनले देखाएको समर्पणलाई धेरैले प्रेरणादायी र अनुकरणीय मानेका छन्।

 

उनको कार्यकालमा विभिन्न उतारचढाव आए पनि अस्पताललाई देशकै नमुना तथा उत्कृष्ट अस्पतालका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको कर्मचारीहरू बताउँछन्। अस्पतालका कर्मचारीहरूका अनुसार कटुवाल केवल व्यवस्थापन समितिका अध्यक्ष मात्र नभई परिवारकै सदस्यझैँ मिलनसार र सहयोगी व्यक्तित्व थिए।

 

पदबाट अलग भए पनि कटुवालले अस्पताल र समुदायप्रति पुर्‍याएको योगदान, इमानदारी र सेवाभाव सधैं सम्मानका साथ स्मरण गरिने विश्वास स्थानीयवासी तथा अस्पताल परिवारले व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०२६-०६-२० , समय : १२:३४:३४ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित