रङ्गेलीमा नयाँ इन्सपेक्टर आएपछि लागूऔषध नियन्त्रणमा आशा बढ्यो

मिति: २०२६-०६-२० , समय : २२:०७:१९ , Our Pradesh

Our Pradesh

नयाँ इन्सपेक्टर आएपछि लागूऔषध नियन्त्रणमा आशा बढ्यो

रङ्गेली, मोरङ। इलाका प्रहरी कार्यालय रङ्गेलीमा हालै इन्सपेक्टरको रूपमा अशोक झा पदस्थापन भएपछि रङ्गेली क्षेत्रमा लागूऔषध कारोबार नियन्त्रणमा प्रभावकारी काम हुने अपेक्षा बढ्दै गएको छ। नयाँ नेतृत्व आएलगत्तै प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गर्न सफल भएपछि स्थानीयवासीमा थप विश्वास जागेको छ।

 

यसै क्रममा इलाका प्रहरी कार्यालय रङ्गेलीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा भारतको आमगाछी निवासी अभिषेक मण्डललाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार उनको साथबाट करिब ३० हजार ५०० वटा ट्रामाडोल ट्याब्लेट बरामद गरिएको हो।

Oplus_16908

प्रहरीले रङ्गेली–सुनबर्सी सीमाक्षेत्र अन्तर्गत भेडवा थाना नजिक विशेष निगरानीका क्रममा उक्त परिमाणको लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

रङ्गेली क्षेत्रमा पछिल्लो समय लागूऔषध कारोबार बढ्दै गएको गुनासो आइरहेका बेला नयाँ इन्सपेक्टर अशोक झाको आगमनसँगै प्रहरीले सक्रियता बढाएको देखिएको छ। आजको यो कारबाहीलाई स्थानीयवासीले लागूऔषधविरुद्धको अभियानको सकारात्मक सुरुवातका रूपमा हेरेका छन्।

 

“नयाँ नेतृत्व, नयाँ जोश — लागूऔषधमुक्त रङ्गेली हाम्रो संकल्प” भन्ने सन्देशसहित प्रहरीले आगामी दिनमा पनि यस्ता अवैध गतिविधिविरुद्ध कडा निगरानी र कारबाही जारी रहने जनाएको छ।

 

प्रकाशित मिति: २०२६-०६-२० , समय : २२:०७:१९ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित