मोरङमा समुदायस्तरका विपद् प्रतिकार्य स्वयंसेवक निर्माणका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम शुभारम्भ
मिति: २०२६-०६-२३ , समय : १७:४१:४२ , Our Pradesh
मिति: २०२६-०६-२३ , समय : १७:४१:४२ , Our Pradesh
Our Pradesh
मोरङ, असार ९ । समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्दै दक्ष स्वयंसेवक समूह निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको “समुदाय स्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक समूह निर्माणका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम” आजबाट मोरङ जिल्लाका दुई स्थानमा एकैसाथ शुभारम्भ भएको छ।



सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजना तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चालन भएको उक्त कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेक्वा कंकालिनी, मोरङ र मोरङको रंगेली नगरपालिका–४ स्थित वडा कार्यालय भवनमा एकैसाथ सुरु गरिएको हो।



स्थानीय तहमा कार्यरत नगर प्रहरी तथा स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रम २०८३ साल असार ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममार्फत समुदायस्तरमा विपद् व्यवस्थापन तथा प्रतिकार्य क्षमताको विकास गर्दै दक्ष स्वयंसेवक समूह तयार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेक्वा कंकालिनी, मोरङमा आयोजित उद्घाटन कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रमणि पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका सहायक बाहिनीपति सशस्त्र प्रहरी उपरीक्षक महेश के.सी., सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण मुख्यालय कंकालिनीका गणपति सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्र बहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक राजन शर्मा सापकोटा लगायत प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, रंगेली नगरपालिका–४ स्थित वडा कार्यालय भवनमा आयोजित कार्यक्रम रंगेली नगर कार्यपालिकाकी कार्यवाहक नगर प्रमुख भुमा पराजुलीको प्रमुख आतिथ्यमा शुभारम्भ गरिएको थियो।
सात दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा मोरङ जिल्लाका विभिन्न स्थानीय तहका नगर प्रहरी तथा विभिन्न संघसंस्थाका गरी ४० जना प्रशिक्षार्थी सहभागी छन्। तालिम अवधिभर विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक उपचार, विपद् पूर्वतयारी तथा समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी विविध विषयमा प्रशिक्षण तथा सचेतनामूलक गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ।
प्रकाशित मिति: २०२६-०६-२३ , समय : १७:४१:४२ , ३ महिना अगाडि