विराटनगर आगजनी प्रकरणका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि कारागार चलान
मिति: २०२६-०६-२६ , समय : २०:३५:०२ , Our Pradesh
मिति: २०२६-०६-२६ , समय : २०:३५:०२ , Our Pradesh
Our Pradesh
विराटनगर आगजनी प्रकरणका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि कारागार चलान
विराटनगर, असार १२ – कोशी प्रदेशको राजधानी विराटनगरमा गत वर्ष जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोड प्रकरणका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।



शुक्रबार अदालतमा स्वेच्छिक रूपमा उपस्थित भएका अन्सारीको बयान तथा थुनछेक बहसपछि अदालतले नापी कार्यालयमा भएको आगजनी तथा तोडफोडसँग सम्बन्धित आपराधिक उपद्रव मुद्दामा थुनामा राखेर अनुसन्धान तथा पुर्पक्ष अघि बढाउन आदेश दिएको हो। आदेशसँगै उनलाई जिल्ला कारागार मोरङ पठाइएको अदालतले जनाएको छ।


यद्यपि, जिल्ला सरकारी वकिल कार्यालयसँग सम्बन्धित अर्को आपराधिक उपद्रव मुद्दामा अदालतले अन्सारीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको भए पनि उक्त रकम हालसम्म दाखिला भएको छैन।
गत वर्ष भदौ २४ गते विराटनगरमा भएको हिंसात्मक घटनामा सरकारी कार्यालय, सार्वजनिक संरचना तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो। प्रहरी अनुसन्धानले केही सरकारी कार्यालयमा भएको आगजनी र तोडफोडको नेतृत्व अन्सारीले गरेको निष्कर्ष निकालेपछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।
यसअघि पक्राउ परेर हाजिरजमानीमा छुटेका अन्सारी अदालतमा नियमित रूपमा उपस्थित नभएपछि फरार प्रतिवादी घोषित भएका थिए। पक्राउ पुर्जी जारी भए पनि लामो समयसम्म फरार रहेका उनी अन्ततः शुक्रबार आफैं अदालतमा उपस्थित भएका हुन्।
यस घटनासँग सम्बन्धित अन्य अभियुक्तविरुद्धको मुद्दा भने जिल्ला अदालत मोरङमा विचाराधीन रहेको छ।
प्रकाशित मिति: २०२६-०६-२६ , समय : २०:३५:०२ , ३ महिना अगाडि