सीमाबासीको भरोसाको केन्द्र बन्दै सशस्त्र प्रहरी, खेलकुदमार्फत बढ्यो आत्मीय सम्बन्ध

मिति: २०२६-०६-२७ , समय : १८:४३:११ , Our Pradesh

Our Pradesh

रंगेली, मोरङ — सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा बल गुल्म सोराभाग र समाजसेवा युवा क्लब, रंगेली–४ को संयुक्त आयोजनामा सीमा क्षेत्रका नागरिकसँग आत्मीय सम्बन्ध विस्तार तथा जनसहभागिता अभिवृद्धि गर्ने उद्देश्यले मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

 

आयोजकका अनुसार प्रतियोगिता BADP (Border Area Development Program) अन्तर्गत सञ्चालन गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकसँग सहकार्य र विश्वासको सम्बन्ध मजबुत बनाउँदै सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रणमा जनसहभागिता बढाउनु रहेको छ।

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक गोविन्द प्रसाद पोखरेलले सीमा क्षेत्रका वडाहरूमा स्थानीयवासीसँग समन्वय र सहकार्य अभिवृद्धि गर्न यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएको बताए। उनका अनुसार स्वस्थ समाज निर्माण, स्थानीयसँग विश्वासको सम्बन्ध स्थापना तथा सीमा सुरक्षामा नागरिकको सहभागिता बढाउने लक्ष्यसहित खेलकुद प्रतियोगिता, विद्यालयका विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण, साथै सीमा क्षेत्रका मन्दिर तथा धार्मिक स्थलहरूको सरसफाइजस्ता सामाजिक गतिविधि सञ्चालन गरिँदै आएको छ।

उनले यस्ता कार्यक्रमले स्थानीयवासी र सुरक्षा निकायबीच विश्वास तथा सहकार्यको वातावरण थप सुदृढ भएको उल्लेख गर्दै यसबाट सीमा क्षेत्रमा हुने विभिन्न प्रकारका अपराध न्यूनीकरणमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सशस्त्र प्रहरी बल बीओपी नोचाका इन्सपेक्टर राम सुवेदी, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

 

समाजसेवा युवा क्लबका अध्यक्ष ईश्वर थापाले सशस्त्र प्रहरी बलद्वारा सञ्चालन गरिएका यस्ता कार्यक्रम समाजका लागि सकारात्मक र प्रेरणादायी रहेको बताउँदै समुदाय र सुरक्षा निकायबीचको सम्बन्ध अझ सुदृढ बनाउन प्रभावकारी हुने धारणा व्यक्त गरे।

त्यसैगरी, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष विनोद डाँगीले सुरक्षा निकाय र स्थानीय समुदायबीच सहकार्यमा सञ्चालन हुने यस्ता गतिविधिले आपसी विश्वास बढाउनुका साथै सामाजिक एकता र सामुदायिक विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने बताए।

प्रकाशित मिति: २०२६-०६-२७ , समय : १८:४३:११ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित