विकल्पको व्यवस्था नगरी रक्तसञ्चार सेवा केन्द्र नहटाउन रेडक्रसको आग्रह

मिति: २०२६-०७-०९ , समय : २२:४८:५६ , Our Pradesh

Our Pradesh

रङ्गेली, असार -२५ गते— नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाले कोशी अस्पताल परिसरमा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रलाई उपयुक्त वैकल्पिक व्यवस्था नगरी भवन खाली गराउन नहुने भन्दै सरकार तथा सबै सरोकारवाला निकायसँग सहयोग र ऐक्यबद्धताको अपिल गरेको छ।

 

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा शाखाले कोशी अस्पताल व्यवस्थापन समितिले अस्पताल परिसरभित्र रहेका संरचना ७ दिनभित्र खाली गर्न जारी गरेको सूचनापछि रक्तसञ्चार सेवा सञ्चालन अन्योलमा परेको जनाएको हो।

 

रेडक्रसले रगतको कुनै कृत्रिम विकल्प नभएको उल्लेख गर्दै दुर्घटना, शल्यक्रिया, प्रसूति, क्यान्सर, थालासेमिया, रक्तअल्पता लगायतका बिरामीको उपचारका लागि सुरक्षित र गुणस्तरीय रगतको नियमित उपलब्धता अत्यावश्यक रहेको जनाएको छ। रगत अभावका कारण बिरामीको ज्यान जोखिममा पर्न सक्ने भएकाले रक्तसञ्चार सेवा मानवताको सबैभन्दा संवेदनशील सेवामध्ये एक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाले सञ्चालन गर्दै आएको प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रले लामो समयदेखि कोशी अस्पताल परिसरबाट सेवा प्रदान गर्दै आएको छ। केन्द्रमार्फत दैनिक रूपमा परीक्षण गरिएको सुरक्षित र गुणस्तरीय रगत उपलब्ध गराइँदै आएको तथा हालसम्म लाखौं बिरामीले सेवा लिएको र हजारौं स्वयंसेवी रक्तदाताले नियमित रक्तदानमार्फत मानव जीवन बचाउने अभियानमा योगदान पुर्‍याएको शाखाले जनाएको छ।

 

पत्रकार सम्मेलनमा रेडक्रसले रक्तसञ्चार सेवा कुनै व्यावसायिक गतिविधि नभई पूर्ण रूपमा मानव सेवामा आधारित अभियान भएको उल्लेख गर्दै यसको निरन्तरता, गुणस्तर र जनविश्वास कायम राख्न सरकार, स्वास्थ्य संस्था, नागरिक समाज, सञ्चारमाध्यम तथा सबै सरोकारवाला पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएको छ।

 

रेडक्रसले रक्तसञ्चार सेवा अवरुद्ध हुने अवस्था सिर्जना हुन नदिन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय गरी उपयुक्त वैकल्पिक स्थानको व्यवस्था गरेपछि मात्र रक्तसञ्चार सेवा केन्द्र रहेको भवन खाली गराउने व्यवस्था मिलाउन माग गरेको छ।

प्रकाशित मिति: २०२६-०७-०९ , समय : २२:४८:५६ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित