मोरङको सुनवर्षीमा ४ वर्षीया बालिकाको हत्या, प्रहरीले अनुसन्धान तीव्र
मिति: २०२६-०७-२५ , समय : ०९:१५:२२ , Our Pradesh
मिति: २०२६-०७-२५ , समय : ०९:१५:२२ , Our Pradesh
Our Pradesh
रङ्गेली,मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलमा जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुन मृत अवस्थामा फेला परेकी छन्। शुक्रबार दिउँसो करिब ४ बजेदेखि हराएकी बालिकाको शव साँझ घरदेखि करिब २०० मिटर पूर्वतर्फ रहेको घाँसीबारीमा फेला परेको हो।


परिवारले बालिका हराएपछि खोजी गर्ने क्रममा शव फेला पारेको जनाइएको छ। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित गर्दै मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने तथा आवश्यक अनुसन्धान सुरु गरेको थियो।


प्रहरीका अनुसार बालिकाको निधार र कन्चटमा गहिरो चोट देखिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कार भएको संकेत नदेखिएको प्रहरीले जनाएको छ। साथै, पुरानो रिसइबीका कारण हत्या भएको हुन सक्ने आशंकासहित विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।


शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान हुन बाँकी रहेको र खोजी तथा अनुसन्धान तीव्र रूपमा जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटवालले जानकारी दिएका छन्।

मृतक कायानत खातुन परिवारकी माइली छोरी हुन्। उनका एक जेठो दाजु र एक कान्छो भाइ रहेका छन्।
घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक परीक्षण तथा अनुसन्धान पूरा भएपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ। यस घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: २०२६-०७-२५ , समय : ०९:१५:२२ , २ महिना अगाडि