सीमामा सनसनी: भारतीय प्रहरी चौकीमा कार्यरत चौकीदार १ ग्राम ब्राउन सुगरसहित पक्राउ

मिति: २०२६-०७-२५ , समय : १०:३४:०५ , Our Pradesh

Our Pradesh

सुनवर्षी–८ सीमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त कारबाही, मोटरसाइकलको टुलबक्सबाट ब्राउन सुगरजस्तो पदार्थ बरामद

मोरङ। सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले मोरङको सुनवर्षी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाक्षेत्रबाट भारतको बिहार राज्य अन्तर्गत सिक्टी प्रहरी चौकीमा कार्यरत रहेको बताइएका एक व्यक्तिलाई लागू औषधसहित नियन्त्रणमा लिएको छ।

 

प्रारम्भिक जानकारीअनुसार सशस्त्र प्रहरी बल सिक्टीका इन्स्पेक्टर विनोद थापा र इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अशोक झा नेतृत्वको संयुक्त टोलीले शंकास्पद रूपमा चलिरहेको डिस्कभर मोटरसाइकल जाँच गर्ने क्रममा टुलबक्सभित्र लुकाइ राखिएको ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको हो। त्यसपछि उक्त व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।

 

स्थानीयवासीका अनुसार नियन्त्रणमा परेका व्यक्ति भारतको सिक्टी प्रहरी चौकीमा ग्रामीण प्रहरी चौकीदार (Village Chowkidar) का रूपमा कार्यरत रहेका छन्। यद्यपि, उनको आधिकारिक पद तथा जिम्मेवारीबारे सम्बन्धित भारतीय सुरक्षा निकायबाट औपचारिक पुष्टि हुन बाँकी छ।

 

सीमामा लागू औषध नियन्त्रण गर्ने जिम्मेवारीसँग जोडिएको व्यक्तिमाथि नै यस्तो आरोप लागेपछि सीमाक्षेत्रमा गम्भीर प्रश्न उठेका छन्। जब सीमा सुरक्षासँग सम्बन्धित व्यक्ति नै लागू औषध प्रकरणमा जोडिएको आशंका हुन्छ, तब तस्करी नियन्त्रण प्रणाली कति प्रभावकारी छ भन्ने विषयमा स्वाभाविक रूपमा प्रश्न उठ्छ।

 

बरामद गरिएको पदार्थको प्रकृति, परिमाण तथा घटनामा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। आधिकारिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएपछि घटनाको वास्तविकता थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-०७-२५ , समय : १०:३४:०५ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित