मिति: २०२६-०७-२६ , समय : ११:१५:४४ , Our Pradesh
Our Pradesh
- भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
भारतको चर्चित NEET (निट) परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणले देशव्यापी आन्दोलन, संसददेखि सडकसम्मको विरोध र राजनीतिक तरंग सिर्जना गरेको अवस्थामा नेपालमा पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको ६ मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेपालको परीक्षा प्रणालीमाथि पनि गम्भीर प्रश्न उठ्न थालेको छ।

गत बिहीबार सञ्चालन भएको MGT 515: Organizational Behavior विषयको प्रश्नपत्र ह्वाट्सएप र फेसबुकका विभिन्न समूहमा भाइरल भएपछि त्रिविको परीक्षा सुरक्षामाथि प्रश्न उठेको हो। परीक्षा केन्द्रमा शिलबन्दी खोल्ने, प्रश्नपत्र वितरण गर्ने र कडा निगरानीको व्यवस्था हुँदाहुँदै केही मिनेटमै प्रश्नपत्र बाहिरिनुले सुरक्षा प्रणाली कमजोर भएको आशंका बलियो बनेको छ।


भारतमा NEET प्रश्नपत्र चुहावट प्रकरणले लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै व्यापक विरोध भएको थियो। विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले समेत आन्दोलनको नेतृत्व गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका थिए। त्यस घटनाले भारतको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको थियो।

नेपालमा पनि अहिले देखिएको घटनाले त्यही प्रश्न दोहोरिएको छ । के नेपाल पनि भारतकै जस्तो ‘पेपर लिक’ संकटतर्फ अघि बढ्दै छ?
घटनापछि त्रिवि व्यवस्थापन सङ्कायका डिन प्रा. डा. महानन्द चालिसेले आकस्मिक बैठक बोलाउँदै संयुक्त छानबिन समिति गठन गर्ने तयारी गरेका छन्। विश्वविद्यालयले नेपाल प्रहरीको साइबर ब्युरोसँग अनुसन्धानका लागि सहयोग मागेको छ भने प्रश्नपत्र सामाजिक सञ्जालमा फैलाउन प्रयोग भएका मोबाइल नम्बर र च्याटको आधारमा अनुसन्धान अघि बढाइएको छ।
यद्यपि, डिन चालिसेले यो ‘पेपर लिक’ नभई परीक्षा सुरु भएपछि कसैले मोबाइलबाट प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाएको दाबी गरेका छन्। तर परीक्षा सुरु भएको ६ मिनेटमै प्रश्नपत्र सार्वजनिक हुनुले परीक्षा प्रणालीको विश्वसनीयता र सुरक्षामाथि गम्भीर प्रश्न भने उठाइसकेको छ।
अब त्रिविको छानबिनले यो सामान्य लापरबाही थियो वा संगठित रूपमा प्रश्नपत्र बाहिरिएको घटना हो भन्ने स्पष्ट पार्नेछ। तर एउटा प्रश्न भने उठिसकेको छ—भारतमा जस्तै प्रश्नपत्र चुहावट नेपालको शिक्षा प्रणालीका लागि पनि नयाँ चुनौती बन्ने त होइन?
प्रकाशित मिति: २०२६-०७-२६ , समय : ११:१५:४४ , २ महिना अगाडि