एसपी कवित कटवालको नेतृत्वमा मोरङ प्रहरीको प्रभावशाली सफलता : अपराध नियन्त्रणदेखि संगठन सुधारसम्म चौतर्फी प्रशंसा

मिति: २०२६-०८-०४ , समय : १८:०६:३६ , Our Pradesh

Our Pradesh

 

एसपी कवित कटवालको नेतृत्वमा मोरङ प्रहरीको प्रभावशाली सफलता : अपराध नियन्त्रणदेखि संगठन सुधारसम्म चौतर्फी प्रशंसा

रङ्गेली । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालको नेतृत्वमा मोरङ प्रहरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, फरार अभियुक्त पक्राउ तथा प्रहरी संगठन सुधारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै विभिन्न क्षेत्रबाट प्रशंसा प्राप्त गरिरहेको छ।

 

एसपी कटवालले जिल्ला कमान्ड सम्हालेयता गम्भीर प्रकृतिका अपराधमा संलग्न अभियुक्तलाई छोटो समयमै पक्राउ गरी कानुनी दायरामा ल्याउने कार्यलाई प्राथमिकतामा राखेका छन्। रङ्गेलीमा भएको सामूहिक बलात्कार घटनामा संलग्न अभियुक्तलाई घटनाको करिब दुई घण्टाभित्रै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको घटना मोरङ प्रहरीको द्रुत र प्रभावकारी कार्यशैलीको उदाहरणका रूपमा हेरिएको छ।

त्यसैगरी विराटनगर–१७ मा भएको महिलाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई घटनाको दुई घण्टाभित्रै पक्राउ गरिएको थियो भने लेटाङकी एक बालिकाको हत्या घटनामा संलग्न अभियुक्तलाई भारतबाट पक्राउ गरी कानुनी प्रक्रियामा ल्याइएको प्रहरीको भनाइ छ।

 

प्रहरीका अनुसार एसपी कटवालको नेतृत्वमा लागूऔषधविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्दै विभिन्न स्थानीय तहमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। सीमापार अपराध अनुसन्धानलाई तीव्र बनाइएको, फरार प्रतिवादी पक्राउ गरी जरिवाना असुल तथा कैद भुक्तान गराइएको, भन्सार छलीका अवैध सामान नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरिएको प्रहरीको दाबी छ।

 

त्यसैगरी कारागारभित्र हुने अनधिकृत असुली तथा आपराधिक गतिविधिविरुद्ध कारबाही गरिएको, विराटनगरको बरगाछीस्थित प्रहरीको अतिक्रमित जग्गा फिर्ता गराइएको तथा कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराइएको कार्यलाई पनि उल्लेखनीय उपलब्धिका रूपमा लिइएको छ।

 

प्रहरी प्रशासनलाई सेवामैत्री र प्रविधिमैत्री बनाउने उद्देश्यले कार्यालयभित्र भिजिटर पास प्रणाली लागू गरिएको, ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गमैत्री सहायता सेवा सञ्चालन गरिएको, हिरासतमा रहेका व्यक्तिका लागि मनोपरामर्श सेवा सुरु गरिएको तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान र अनुशासन उल्लंघन गर्नेमाथि कारबाहीको नीति प्रभावकारी रूपमा कार्यान्वयन गरिएको जनाइएको छ।

 

यसबीच उद्योगपति प्रकाश मुण्धडाको घरमा प्रहरीले छापा मारेपछि केही आलोचना भए पनि सुरक्षा क्षेत्रका जानकारहरूका अनुसार जिल्ला प्रहरी प्रमुखले कानुनबमोजिम प्राप्त सूचना र आदेशका आधारमा कारबाही गर्नुपर्ने दायित्व हुन्छ। उनीहरूका अनुसार एसपी कटवालको नेतृत्वमा भइरहेको अधिकांश कारबाही कानुनको शासन स्थापित गर्ने, अपराध नियन्त्रण गर्ने र नागरिकको सुरक्षालाई सुदृढ बनाउने उद्देश्य अनुरूप रहेको देखिन्छ।

 

अपराध नियन्त्रण, लागूऔषधविरुद्धको अभियान, गम्भीर घटनाको द्रुत अनुसन्धान, फरार अभियुक्त पक्राउ, संगठन सुधार तथा नागरिकमैत्री प्रहरी सेवाका कारण एसपी कवित कटवालको कार्यशैलीप्रति नागरिक, सरोकारवाला, उद्योगी–व्यवसायी तथा सुरक्षा क्षेत्रका विभिन्न तहबाट सकारात्मक प्रतिक्रिया र चौतर्फी प्रशंसा व्यक्त भइरहेको बताइएको छ।

प्रकाशित मिति: २०२६-०८-०४ , समय : १८:०६:३६ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित