रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको नयाँ मापदण्ड सार्वजनिक काठमाडौं

मिति: २०२६-०८-०५ , समय : २०:२१:५७ , Our Pradesh

Our Pradesh

रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको नयाँ मापदण्ड सार्वजनिक

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको नयाँ कार्यविधि सार्वजनिक गरेको छ। निर्वाचन हुन करिब आठ महिना बाँकी रहँदा पार्टीले योग्य, सक्षम र पारदर्शी नेतृत्व छनोट गर्ने उद्देश्यसहित ‘क्यान्डिडेट क्लब’ अवधारणा अघि सारेको हो।

रास्वपाका अनुसार आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका ३५ हजार २२१ पदका लागि उम्मेदवार चयन गर्न मेयर, उपमेयर, वडाध्यक्ष तथा वडा सदस्यका आकांक्षीले अनिवार्य रूपमा ‘पालिका क्यान्डिडेट क्लब’ वा ‘वडा क्यान्डिडेट क्लब’ मा आवेदन दिनुपर्नेछ।

आवेदनकर्ताले कानुनी योग्यता पुगेको, पार्टीको साधारण सदस्य भएको तथा पार्टीको विचार र नीतिप्रति प्रतिबद्ध रहेको हुनुपर्नेछ। साथै घरेलु हिंसा, यौन दुर्व्यवहार, साइबर बुलिङलगायतका घटनामा संलग्न नरहेको, वैवाहिक अवस्था स्पष्ट रहेको तथा आफूविरुद्ध कानुनी मुद्दा भए–नभएकोबारे स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ।

उम्मेदवार छनोटका लागि चार चरणको मूल्यांकन प्रणाली तय गरिएको छ। जसमा:

  • लिडरसिप एकेडेमी – २५%
  • पोलिटिकल प्रोक्सिमिटी – २५%
  • समावेशी मापदण्ड – १०%
  • पार्टीको आन्तरिक निर्वाचन – ४०%

लिडरसिप एकेडेमीको परीक्षणमा सफल भएकाहरू मात्र अर्को चरणमा प्रवेश गर्नेछन्। त्यसपछि संगठनात्मक सक्रियता, जनसमर्थन, चुनाव जित्ने सम्भावना, आचरण तथा सामाजिक मूल्यांकनका आधारमा अन्तिम छनोट गरिनेछ।

पार्टीले उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्न १९ सदस्यीय समिति गठन गर्ने जनाएको छ। आर्थिक चलखेल, गुटबन्दी, मतदानमा धाँधली, दुष्प्रचार तथा चरित्र हत्या जस्ता गतिविधिलाई गम्भीर अनुशासनहीनता मानी कारबाही गर्ने व्यवस्था पनि कार्यविधिमा समावेश गरिएको छ।

असाधारण परिस्थितिमा भने केन्द्रीय समितिको दुईतिहाइ बहुमतबाट नियमित प्रक्रियाभन्दा बाहिर गएर पनि उम्मेदवार छनोट गर्न सकिने व्यवस्था राखिएको रास्वपाले जनाएको छ।

प्रकाशित मिति: २०२६-०८-०५ , समय : २०:२१:५७ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित